तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा पानी भरिँदै

नेपालखोज २०७८ वैशाख १२ गते १०:३८

काठमाडौं । दोलखाको लामावगरमा निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा पानी भर्न सुरु गरिएको छ । ४ सय ५६ मेगावटको माथिल्लो जलविद्युत् आयोजनामा शनिबारबाट पानी भर्न सुरु गरेको आयोजनाले जनाएको छ । डयाम तथा डिस्यान्डरमा पानी भरिएपछि मूख्य सुरुङ र पेनस्टक पाइपको प्राविधिक परिक्षण गरिने छ । करिब १० दिनको प्राविधिक परिक्षणपछि ७६ मेगावट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादन परिक्षण सुरु गरिने आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङ र पेनस्टक पाइपको प्राविधिक परिक्षण करिब एक हप्ता सक्ने गरी काम भइरहेको छ ।पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएलगतै प्रत्येक महिना प्रत्येक युनिटबाट विद्युत उत्पादन गदै जाने आयोजनाको तयारी छ । ६ वटा युनिट रहेको आयोजनामा प्रत्येक युनिटबाट ७६ मेगावट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको बाँध, सुरुङ, प्रसारणलाइन, सबस्टेशन लगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका बाकी काम भइरहेका छन् भने मुख्य निर्माण अन्तगर्त बाध र इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङ लगातका सिभिल संरचनाको काम सकिएको छ ।

प्रतिक्रिया