शनिबार, वैशाख २२, २०८१

‘पुनर्निर्माण हुँदै नभएको त होइन नि !’

नेपालखोज २०७८ वैशाख १२ गते १३:३७

काठमाडौं । २०७२ वैशाख १२ गते दिउँसो ११:५६ बजे गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी महाभूकम्पलाई सम्झँदा अहिले पनि जो कसैको आङ सिरिङ हुन्छ ।

त्रासदीपूर्ण उक्त घटनामा करिब आठ हजारको ज्यान मात्र गएन १६ हजारभन्दा बढी मानिस घाइते र अंगभंग भए । त्यो भूकम्पको मानसिक अथवा सामाजिक क्षतिको राम्रो आकलन कसैसँग नभए पनि आर्थिक क्षतिलाई खर्बौंमा अनुमान गरियो । जसमा निजी, सरकारी तथा सार्वजनिक सम्पत्ति, पुरातात्त्विक संरचना, विकास आयोजना, संरचना आदिका अतिरिक्त प्राकृतिक सम्पदाको नोक्सानी प्रमुख थियो ।

७ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्प वि.सं १९९० मा गएको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसाल भन्छन्, १९९० पछि हामीले यति ठूलो भूकम्पको अनुभव गरेका थिएनौं । सानातिना भूकम्पको झटका बेहोरे पनि ती हाम्रो मन-मस्तिष्कमा बस्ने खालका थिएनन् । त्यसैले पनि भूकम्पलाई लिएर हाम्रो कुनै पूर्वतयारी थिएन । जसका कारण हामीले यो ठूलो राष्ट्रिय विपत्तिमा ठूलै नोक्सानी बेहोर्नुपर्‍यो ।

‘त्यसबाट हामीले विपत्तिका लागि तयारी अवस्थामा रहनुपर्छ भन्ने कुरा सिक्यौं,’ भुसाल भन्छन्, ‘हामीले उद्धार र राहतसँगै यसको दस्तावेजीकरण प्रारम्भ गर्‍यौं ताकि आउँदा दिनमा यस्ता विपत्ति सामना गर्न सहज होस् ।

अचानक आएको उक्त राष्ट्र्रिय विपत्तिपछि सरकार, सेना, प्रहरी, सारा नेपाली समुदायसहित नेपालका छिमेकीका साथै शुभचिन्तक मुलुक, तिनका नागरिक अनि संघ-संस्थाहरु उद्धार एवं राहतको काममा सक्रिय भए । त्यसकै परिणाम स्वरुप कतिपय मानिस घरका भग्नावशेषहरुबाट साता दिनपछि पनि उद्धार गरिए । त्यसका लागि कुकुरदेखि लिएर हेलिकोप्टरसम्म प्रयोग गरियो । यद्यपि विनाशको सिलसिला त्यतिमै टुंगिएन । नेपालमा त्यसपछि लगातार भूकम्पका परकम्पहरु गइरह्‍यो जसले महिनौंसम्म नेपाली जनता भयक्रान्त जीवन बाँच्न बाध्य भए । ती परकम्पमा परेर थप मानिसले ज्यान मात्र गुमाएनन थप भौतिक क्षतिसमेत बेहोर्नुपर्‍यो ।

त्यही भूकम्पका कारण लामटाङलगायत क्षेत्रमा हिमपहिरो गएर मानिसको जिउधन पनि नोक्सान भयो भने त्यही भूकम्पका कारण नेपालका पहाडी क्षेत्रमा पहिरोको एउटा शृंखला नै चल्यो जसले जिउ धनको क्षतिको तथ्यांकलाई थप बढाउने काम गर्‍यो ।

महाभूकम्पको त्यो कहालीलाग्दो र त्रासदीपूर्ण क्षण हाम्रो मनमस्तिष्कमा छाए पनि अहिले हामीले त्यसलाई बिर्संदै गएको स्थिति छ । भूकम्पको त्रासदीपूर्ण क्षण विस्मित हुँदै गए पनि त्यसबाट हामीले सिक्ने पाठ, पुनर्संरचना अनि पुनर्स्थापनाका साथै भविष्यका लागि आवश्यक सुरक्षात्मक कदममा राज्यले कति काम गरेको छ भन्ने प्रश्नमा सन्तोष गर्ने ठाउँ भने छैन । यद्यपि यसमा केही हुँदै नभएकोचाहिँ होइन ।

हाम्रो राष्ट्र्रिय राजनीति, प्रशासनिक संरचना, खर्च गर्न सक्ने क्षमता, जटिलता आदि विविध कारणले भूकम्पको पुनर्निर्माण एवं पुनर्स्थापनाको कामले अपेक्षित गति लिन भने सकेन । यसको अपजसको भारी सम्बन्धितहरुले बोक्नैपर्छ । भुषाल भन्छन्, ‘हाम्रो काम गुजरातको भुज वा राजस्थानजस्तो उदाहरणीय नभए पनि हाइटी आदिको भन्दा त निकै राम्रो छ ।’ भुसालका अनुसार अहिले शैक्षिक क्षेत्र तथा निजी आवासको पुनर्निर्माण सन्तोषजनक देखिन्छ भने विभिन्न कारणले पुरातात्त्विक सम्पदाको काम केही सुस्त छ । पुनर्निर्माणको कुरामा हामी नीतिगत रुपमै चुकेका कारण समस्या सिर्जना भएको हो । फेरि यति बृहत् काममा कतिपय काम सबैलाई चित्तबुझ्दो नहुन सक्छ ।

महाभूकम्पपछि पुनर्निर्माणको काम रकम अभावले रोकिने स्थिति नभए पनि प्रतिबद्धताअनुरुपको विदेशी सहयोग प्राप्त हुन ढिलाइ भएको भुसालले जनाए । उनी भन्छन्, ‘भूकम्पले दिएको मानसिक तथा मनोवैज्ञानिक चोट लामो समयसम्म रहिरहनेछ । यसमा पनि राज्यले सम्बोधन गर्न सकेको पाइँदैन । उनका अनुसार भूकम्पजस्ता विपत् व्यवस्थापनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्राधिकार दिएर काम गर्नुपर्छ । जसका कारण हामी भविष्यमा यस्ता काम पूर्ण दक्षताका साथ गर्नसक्छौं ।

प्रतिक्रिया