कोरोना संक्रमितलाई सुझाव- चिकित्सकको सल्लाहबिना औषधि सेवन नगरौँ

नेपालखोज २०७८ वैशाख १३ गते ८:५८

काठमाडौं । कोरोना संक्रमित भएपछि सिकिस्त नभईयोस् वा गाह्रो नहोस् भनेर कतिपयले चिकित्सकको सिफारिस बिनै पेनकिलर तथा एन्टिबायोटिक औषधी खाने गर्दछन् । जो एउटा गम्भीर गल्ती हो र प्राणघातकसम्म हुन सक्छ । हालसम्म कोभिड–१९ को औषधी बनिसकेको छैन । चिकित्सकहरूले होम आइसोलेशन÷अस्पतालमा रहेका बिमारीहरुलाई अवस्था हेरेर आवश्यक औषधी चलाइ रहेका हुन्छन् । शारिरिक रुपमा केही सहज महसुस होस् भन्ने उदेश्यले यस्तो औषधीहरु चलाइएको हुन्छ ।

एन्टिबायोटिक प्रभावकारि छैन

कोभिड–१९ भाईरल बीमारी हो । त्यसैले यसमा एन्टिबायोटिकले काम गदैन । एन्टिबायोटिकले ब्याक्टे«रियाबाट हुने बीमारीमा मात्र काम गर्छ । त्यसैले एन्टिबायोटिक खानुको कुनै अर्थ छैन । यसका साथै हातबाट भाइरस हटाउन एन्टिब्याक्टीरियल साबुन प्रयोग गर्नुको साटो अल्कोहलयुक्त सेनिटाइजर नै प्रयोग गर्नु उपयुुक्त हुन्छ ।

चिकित्सकले कस्ता औषधी दिन्छन्

होम आइसोलेशनमा भएका बिमारीले ज्वरो तथा टाउको दुखाइको पीडा कम गर्न चिकित्सकको सिफारिस बमोजिम प्यारासिटामोल तथा पेनकेलर खान सक्छन् भने खोकि कम गर्न कफ सिरप प्रयोग गर्न सकिन्छ ।

घरेलू उपाय

गला सफा गर्न मनतातो पानीमा थोरै नुन हालेर कुल्ला गर्न सकिन्छ । यसका लागि मह–अदुवा पनि प्रयोग गर्न सकिन्छ । हाम्रो शरीर कोरोनाबिरुद्ध लडिरहदाँ आफ्नो इम्यूनिटी पनि बढ़ाउनु पर्छ । यसका लागि शरीरमा पानीको कमी हुन दिनु हुँदैन भने तरबूजा, काक्रो आदी फलफुलका साथै फाइबरयुक्त खानेकुरा बढी खानु पर्छ ।

मनपरि आयुर्वेदिक उपचार नगरौँ

अहिले कोरोनाबाट जोगिन भन्दै कतिपय मानिस अनेक किसिमका आयुर्वेदिक वा परम्परागत औषधी (जडिवुटी) पनि सेवन गरिरहेका छन्। यस्ता घरेलु उपचार बिज्ञको सल्लाह बिना अरुको देखासिकी वा नजिकका आफन्तको भनाईमा लागेर जथाभावी सेवन गर्नु हानिकारक हुनसक्छ । त्यसले हाम्रो शरिरमा नकारात्मक असर पार्न सक्ने खतरालाई समयमै बुझ्नु बुद्धिमानी हुन्छ ।

सन्तुलित खानपिन

बढि क्यालोरियुक्त, स्याचुरेटेड फ्याट भएका तथा बढि चिनि प्रयोग गरिएका खानेकुरा नखाऔँ । आफ्नो तौल बढ्न नदिऔँ किनभने तौल बढेसँगै शारीरिक समस्या पनि बढ्न सक्छ । फाइबरयुक्त स्वस्थ तथा सन्तुलित भोजन उपयुुक्त हुन्छ । हरियो सागसब्जी तथा पँहेलो फलफूल लगायत झोलयुक्त खानेकुरा अत्यधिक खाऔँ ।

विशेष साबधानी : यो सामान्य सुझाव मात्र हो । कुनै पनि उपाय अपनाउँदा वा आफ्नो शरिरमा कुनै औषधीको प्रयोग गर्नु पहिले सदैब सम्बन्धित विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिऔँ ।

विज्ञहरुको सल्लाहमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले तयार गरेको लेखमा आधारित ।

प्रतिक्रिया