मंगलबार, असार १०, २०८२

भारतीय चिकित्सक भन्छन्- घरमा पनि मास्क लगाउने दिन आए

नेपालखोज २०७८ वैशाख १४ गते ११:२४

काठमाडाैं । भारतमा कोरोनाको संक्रमण बढिरहेको बेलामा अब घरमा बस्दा पनि मास्क लगाउने दिन आएको एक चिकित्सकले बताएका छन् । 

अहिले कसैलाई पनि घरमा बोलाउन नहुने र आफू पनि अरूको घरमा जान नहुने, आरम्भिक लक्षण देख्नेबित्तिकै घरमै आइसोलेट भएर बस्नुपर्ने नीति आयोगका सदस्य डा भीके पलले बताए ।

त्यस्तै डा रणदीप गुलेरियाले लक्षण देखिनेबित्तिकै तत्काल आइसोलेट हुन र रिपोर्ट नकुरिरहन भनेका छन् । आरटी–पीसीआर टेस्ट नेगेटिभ आउने सम्भावना रहे पनि लक्षण छ भने संक्रमित मानेर सबै गाइडलाइन अनुसरण गर्नुपर्छ उनकाे भनाई छ ।

त्यस्तै स्वास्थ्य सचिव लव अग्रवालले मास्क नलगाउँदा जोखिम झन् बढ्ने कुरा गरेका छन् । दुई मानिसले मास्क लगाएनन् र भौतिक दूरी पालन गरेनन् भने कोरोना संक्रमणको खतरा ९० प्रतिशतसम्म बढ्न सक्ने उनले बताए ।

मास्क लगाउने अनि गाइडलाइन पालन गर्ने हो भने जोखिम ३० प्रतिशतमा झर्ने उनकाे भनाई छ । उनका अनुसार, गाइडलाइन पालन नगर्दा एकजना संक्रमितले एक महिनामा ४०६ जनालाई संक्रमण सार्न सक्छ ।

प्रतिक्रिया