बिहीबार, वैशाख १३, २०८१

के हनुमानजी ब्रह्‍मचारी थिए त ?

सुनील सापकोटा २०७८ वैशाख १४ गते १२:५०

आज हिन्दु धर्मावलम्बीहरुको पर्व हनुमान जयन्ती हो । भक्तहरूले आज व्रत र पूजाआजा गरी बडो धुमधामसाथ हनुमानको जन्मोत्सव मनाउँछन् । धर्मशास्त्रका अनुसार पिता केसरी र माता अञ्‍जनाबाट चैत महिनाको शुक्ल पक्ष पूर्णिमाको दिन उहाँको जन्म भएको हो । हनुमानजी शिव अवतार र अष्ट चिरञ्जीवीमध्ये एक हुन् ।

यहाँ दिइएको तस्बिर हनुमानजी र उहाँकी पत्नी सुवर्चलासँगै बसेको दुर्लभ तस्बिर हो । भारतको आन्ध्र प्रदेशको खम्मस जिल्लामा बनेको हनुमानजीको यो मन्दिर जहाँ यो मूर्ति छ त्यसलाई खास मानिन्छ । यहाँ हनुमानजी आफ्नो ब्रह्‍मचारीका रुपमा होइन कि गृहस्थ रुपमा आफ्नी पत्नीका साथ विराजमान हुनुहुन्छ । हनुमानजीको अन्य कुनै पनि मन्दिर तथा तस्बिरहरुमा उहाँकी श्रीमतीको उपस्थिति देखिँदैन ।

एउटा अचम्म के छ भने हनुमानजीलाई प्रायः सबैले ब्रह्‍मचारी मान्ने गरेका छन् । हनुमानजीका सबै भक्त यही मान्यतामा आधारित भएर उनको पूजा-आजा गर्छन् । यद्यपि पराशर संहितामा हनुमानजीको विवाहको प्रसंग उल्लेख छ । त्यसको प्रमाणका रुपमा यो मन्दिर छ ।

कथाअनुसार हनुमानजीले भगवान सूर्यलाई गुरु थापी नौ किसिमको विद्याको ज्ञान लिन खोज्दा पाँचवटा विषयमा त केही समस्या परेनछ, तर चारवटा विषयचाहिँ विवाहित व्यक्तिले मात्र बुझ्न सक्ने भएकाले सूर्यले हनुमानजीलाई यी विषय पढ्ने र बुझ्ने भए विवाह गरेर आऊ भन्नुभएछ । विचरा हनुमानजी त बाल ब्रह्‍मचारी कता विवाह गर्नु ? कसरी विवाह गर्नु ? ठूलो समस्या र धर्म-संकटमा परेको उक्त घडीमा सूर्यदेवले हनुमानजीलाई माया गरेर आफ्नी तेजस्वी पुत्री सुवर्चलासँग विवाह गराई उनको शिक्षा पूरा गर्न सहयोग दिनुभएको रहेछ । हुनत मकरध्वज नाम गरेका हनुमानजीका एक पुत्रको प्रसंग हनुमानकथामा न आएको पनि होइन ।

भनिन्छ (यो मन्दिर दर्शन गर्नाले श्रीमान्-श्रीमतीबीचको तनाव र झगडा समाप्त हुन्छ । यही विश्वासका साथ स्थानीय मानिस श्रद्वापूर्वक यो मन्दिरमा पूजाआजा गर्छन् ।)

प्रतिक्रिया