शुक्रबार, वैशाख १४, २०८१

विश्वकै कमजोर प्रधानमन्त्री मोदी

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७८ वैशाख १६ गते १२:१५

भारतमा कोरोना संक्रमणको दर ज्यादै डरलाग्दो अवस्थामा रहेको कुरा सर्वविदितै छ । भारतमा केन्द्र सरकारको कामलाई लिएर हाल निकै ठूलो आलोचना हुन थालेको छ । भारतको सरकारको नालायकीपनका कारण धेरै मानिसले ज्यान गुमाइरहेको अवस्था छ । विश्वकै गुरु बन्ने सपना बाँडेका नरेन्द्र मोदीका झुटका पर्खालहरु बिस्तारै भत्किने क्रम जारी छ । हालै केन्द्र सरकारले गरेको नाकामलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले जनतासमक्ष प्रस्तुत गरिदिएपछि जनता केन्द्र सरकारसँग आक्रोशित भएका छन् ।

चुनावका समय मोदी सरकारले जनतालाई ठूला ठूला सपनाहरु बाँडेको थियो । तर, मोदी सरकारले ती सपनाहरुलाई पूरा गर्नु त परको कुरा जनतालाई लुट्ने रणनीति बनाएको कुरा भारतीय जनताहरुले महसुस गरिरहेका छन् । अरविन्द केजरिवालले कुनै भ्याक्सिन खरिद गर्दा एउटै कम्पनीले केन्द्र सरकार र राज्य सरकारलाई के कारणले छुट्टाछुट्टै भाउ लिएको हो ? भन्दै नरेन्द्र मोदीलाई प्रश्न गरेका छन् । यस्तो विषम् परिस्थितिमा पनि एउटै देशका नागरिकले भ्याक्सिन लिन फरक-फरक पैसा तिर्नुपर्ने कारणलाई, हामीले कसलाई प्रश्न गर्ने भन्दै उनले नरेन्द्र मोदीसँग प्रश्न गरे । त्यस्तै एउटै देश, एउटै झन्डा, एकै राष्ट्रका नागरिकले फरक-फरक रुपैयाँमा भ्याक्सिन लिनुपर्ने बाध्यतालाई केन्द्र सरकारले कसरी हेरेको छ ? भन्ने पनि उनको प्रश्न थियो ।

भारतको अर्थतन्त्र हाल तहसनहस भएको अवस्था छ । भारतीय जनता पार्टीले जुन राज्यमा आफ्नो सरकार छ त्यहाँको जनतालाई सहुलियत दिने र आफ्नो पार्टीको सरकार नभएको राज्यका नागरिकलाई मर्न दिने रणनीति बनाएको बुझिएको छ । बीजेपी सरकारमा आएसँगै भारतमा आपसी सद्‌भावना र भाइचारासमेत नष्ट भएको कसैबाट छिपेको छैन ।

भारतमा सन् २०१४ मा मोदीको सरकार बनेपछि भारतीय मिडियाहरु उनका पिछलग्गु भएका थिए । उनीहरुको काम हरेक दिन हिन्दु-मुस्लिममा विभाजन ल्याउने रह्यो भन्दा फरक नपर्ला । ती सञ्चारमाध्यमको आठ वर्ष नरेन्द्र मोदीलाई संसारकै ठूलो नेता रहेको देखाउनमा बित्यो । सरकारलाई प्रश्न गर्ने सरकारको चौथो अंग राजाका कठपुतलीजस्ता मोदीको बखानमा रमाइरह्यो । त्यसैको परिणाम आज भारतका जनताले मृत्युवरण गर्नु परिरहेको छ ।

जनताका मुद्दालाई सम्बोधन गर्न मिडियाले सरकारलाई दबाब दिनुपर्ने हो । तर, मोदीको काखमा बसेका मिडियाले मोदीको स्तुतिगानमा यति समय खर्च गर्‍यो कि मानौं शेषनागका हजारौं जिब्रा पनि त्यति धेरै स्तुतिगान गर्नुपरेको खण्डमा थाक्दथे होला । तर, आजतकलगायत मोदीभक्त मिडिया त्यसबाट थाकेनन् । जसको परिणाम बीजेपीको सरकार खुलेआम भ्रष्टाचारमा डुब्यो । सरकारलाई प्रश्न गर्ने औंलामा गन्न सकिने मिडियाका पत्रकारहरुलाई पाकिस्तानी एजेन्टको उपाधि दिइयो । जसले बीजेपीभित्रका तमाम भ्रष्टाचारी र शोषक शासकलाई खुलमखुला जनताको बर्खिलाप काम गर्न तम्स्यायो ।

राम मन्दिर, हिन्दु अतिवाद, रफाल, चुनावको चार-पाँच दिनअघिका बम विस्फोट आदि घटनाहरुमा बीजेपी सरकारको निर्लज्जतालाई मिडियाले यसरी लुकायो मानौं बिरालोले आफ्नै आची लुकाइरहेको छ । जनतालाई सुसूचित गर्ने मिडिया नै सरकारको अन्धभक्तिमा रमाउनु खेदको विषय हो । तर, भारतीय मिडियाहरुको निर्लज्ज खेल समाप्त भएन । सरकारका कामहरुको तर्जुमा गर्नु र कमजोरीहरुको पदाएफास गर्ने मिडियाले दुई महिना सुशान्त सिंहको मृत्यु प्रकरणलाई बढो उत्साहसाथ चलायो । मानौं देशमा रामराज्यको स्थापना भएको छ सरकारको काममा प्रश्न गर्नु भगवान् राममाथि औंला उठाउनु हो ।

मोदी कपाल पालेर तपस्या गरिरहे उनलाई जनताको कुनै होस रहेन । एउटा जोगीलाई तपस्याभन्दा ठूलो के हुन सक्छ र ? उनी पूजापाठ, तीर्थाटन, मन्दिर दर्शन र भगवान्‌को खोजमा तल्लीन रहे । जोगीले गर्ने पनि त्यही नै हो । अर्थतन्त्र, राजनीति, समाज र देशको चिन्ता गर्ने त राजनीतिज्ञको काम हो । मोदीको काम राजनीति थिएन । उनको काम भिक्षा मागेर खाने र तपस्या गर्ने थियो । मिडियाले जनतालाई यो कुरा बुझाइदिएको भए आज लाखौंको संख्यामा भारतीय जनताले प्राण त्याग्नुपर्दैनथ्यो । जनताको हत्याको जिम्मेवारी भारतका मिडिया र बीजेपी पार्टीले लिनुपर्छ भन्ने लाग्छ ।

‘अच्छे दिन आएगा’ भन्ने मोदी सरकारले जनतालाई दिएको अच्छे दिन मृत्यु हो । कोरोना नियन्त्रणका लागि मोदीले जनतालाई थाल ठटाउन लगाए । जनताले थाल ठटाए । दियो बाल्न लागाए जनताले दियो बाले । बिजुली निभाएर मोबाइलको लाइट बाल्न लगाए जनताले त्यही गरे । दुनियाँको नाकाम सरकारले जनतालाई गर्न लगाउने नै यस्तै काम हो । सरकारले कोरोना रोकथामका लागि हस्पिटल बनाउनुपर्थ्यो, वैज्ञानिकहरुसँग सहकार्य गर्नुपर्थ्यो, स्वाथ्यविद्हरुसँग परामर्श गर्नुपर्थ्यो, स्रोत-साधनले सम्पन्न मुलुकमा भ्याक्सिन निर्माण गर्नुपर्थ्यो र त्यसको वितरणलाई प्रभावकारी बनाउनुपर्थ्यो । तर, भारतको सरकारले त्यो गरेन । एउटा जोगीले गर्नसक्ने भनेको तन्त्र, मन्त्र, झारफुक र जंगली उपाय नै हो मोदीले त्यही विधि अपनाए ।

गोमुत्रको रसास्वादनले कोरोना भाग्ने दलील पेस गरे । व्यापारी बाबा रामदेवको गोमुत्रीय भ्याक्सिनको अलौकिकताको व्याख्यान गरे । परंहंस जोगी महाराज कहलिएका मोदीका यी जंगली उत्ताउलो उपायलाई मोदीका भक्त मिडियाले संसारकै सबैभन्दा उत्तम कोरोना भगाउने उपायको संज्ञा दिए । मोदी र उनका भक्त मिडियाहरुले भारतीय जनताको नृशंस हत्या गरेकामा पछुतो मान्न जरुरी छ ।

मोदी सरकारमा आएपछि जनताका मुद्दाहरुलाई वास्तै गरिएनभन्दा फरक नपर्ला । यिनले सस्तो लोकप्रियताका लागि समुद्रमा गएर फोहोर टिप्‍ने र सफाइका कर्मचारीको खुट्टा धुनेजस्ता चुनावी फन्डा मच्चाए । जनतालाई सरकारले गरेको प्रगति विवरण देखाउनुभन्दा आफू सादगी नेता भएको देखाउने ढोंग रचे । यिनलाई सत्तामा टिकिराख्‍ने बहाना चाहिएको थियो । यिनका शिष्य चेला चपेटा मानिएका मिडियाले आफ्नो गुरुको चाहनालाई भरपूर साथ दिए । नभए भारतले यस्तो नालायक प्रधानमन्त्री इतिहासमै पाएको थिएन । यति कमजोर प्रधानमन्त्री भारतको इतिहासमै न थिए न त आगामी दिनमा नै होलान् ।

आज कोरोनाका कारण भारतको अवस्था नाजुक भएको कारण मात्र मोदीलाई कमजोर प्रधानमन्त्री भनेको होइन । यिनी भारतको कुनै पनि मुद्दामा सफल छैनन् । परराष्ट्रनीति, सैन्य शक्ति, आत्मनिर्भरता, स्वावलम्बन, स्वास्थ्य, शिक्षा, गरिबी निवारण, अर्थतन्त्र, रोजगारी र समाजको उत्थान कुनै पनि मुद्दामा यिनी सफल छैनन् । हुन त नेपाल भारतभन्दा निकै पछाडि परेको मुलुक हो । भारतका मान्छेहरुले आफ्नो देशको अवस्था हेर् अनि कुरा गर् पनि भन्लान् । तर, स्रोत साधनको उपलब्धता र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी हेर्ने हो भने मोदीले गरेका कार्यहरु भारतको एक सामान्य संन्यासीको बलबुताले गर्न नसक्ने काम होइन ।

मोदीले गरेका नकामको इतिहासले अवस्य पनि विश्लेषण गर्ला । उनले लिएको हिन्दु अतिवादको नीतिले भारतले कोरोनाले भन्दा धैरै ज्यान गुमाउन बाँकी नै छ । सायद् त्यो मुलुक नै टुक्रने अवस्थामा पुर्‍याउने खालको पनि हुनसक्ला अथवा शान्ति र समानताका लागि रक्तपातको अवस्था सिर्जना पनि हुनसक्ला । भारतको भविष्यमा नै हिन्दु अतिवादले प्रश्न चिह्‍न खडा गरिरहेको छ ।

प्रतिक्रिया