बिहीबार, वैशाख १३, २०८१

‘म गरिब’

दिनेश यादव २०७८ वैशाख २० गते १९:३७

मलाई लाग्छ,
मेरो जीवनको ठेगाना,
सायद कसैले सार्वजनिक गरेछ,
त्यसैले हरेक दुःखको परीक्षा,
मैले मात्र दिनु परेको छ ।१।

कहिले कोरोनाको मार,
आर्थिक अभाव पनि,
मैले नै बेहोर्नुपरेको छ,
भोको पेट हरेक दिन,
सडकमा म भौतारिनु परेको छ ।२।

मरीमरी श्रम–पसिना,
दिँदा पनि अघाउँदैनन् ,
कुटीकुटी ज्यान मेरो लिन्छ,
खै, कानुनी राज्य,
कसले मेरो पीडित परिवारलाई न्याय दिन्छ ।३।

चाहिन्छ मात्र मेरो मत,
मतदाताको ख्याल खै,
चुनाव–आमसभामा बस चढाउँछ,
अप्ठ्यारो घडी,
कोच्चिँदै–निस्सासिँदै यात्रा गर्न बाध्य बनाउँछ ।४।

शरीर मेरो जर्जर,
ओखतीले काम,
अब फिटिक्कै गर्न छाडेको छ,
अस्पतालमा बेड कहाँ पो,
मेरा लागि व्यवस्था गरेको छ ।५।

सिसाको घर,
राज्य श्रोत दुरुपयोग,
अचेल खुबै बढ्या छ,
म र मेरा परिवार भने,
बेरोजगार भई बाँच्न बाध्य छ ।६।

अर्बौं खर्चेको,
मिनारको के काम,
न पेट न उपचारमा सघाउँछ,
यसले उचाइ हैन,
लोकप्रियता तिम्रो घटाएको छ ।७।

मास्क लगाऊ,
स्यानिटाइजरको प्रयोग पनि,
साबुनले मिचिमिची हात धुन भन्छ,
तर, यी सबै किन्न,
सरकार ! खै कसले पो पैसा दिन्छ ।८।

म गरिब,
छैनन् मेरा कोही,
मलाई लाग्छ मेरो जीवनको ठेगाना,
सायद कसैले सार्वजनिक गरेछ,
त्यसैले हरेक दुःखको परीक्षा,
मैले नै दिनुपरेको छ ।९।

गरिब भएर जन्मनु ठीक,
गरिब भएरै मर्नु,
बेठीक धेरैले भन्छ,
तर, नेता कुर्चीको खेलमा मस्त
अनि जनता कसरी धनी बन्छ ।१०।

प्रतिक्रिया