शुक्रबार, वैशाख ७, २०८१

विवश पोखरेलका पाँच मुक्तक

नेपालखोज २०७९ चैत ४ गते ९:१९

१. खुसीको फूल
जुन दिन तुइनको साटो, खोलामा पुल भेटिन्छ
निरीह बस्तीमा, अस्पताल र स्कुल भेटिन्छ
त्यही दिन मात्र तिमी, ढुङ्गाबाट भगवान् बन्ने छौ
जब आँसुको तलाउमा खुसीको फूल भेटिन्छ ।

२. आफ्ना
बाटामा भेटिएकाहरू, कहिले आफ्ना हुँदैनन्
सम्बन्ध मेटिएकाहरू, कहिले आफ्ना हुँदैनन् आफ्नाहरू सधैं, मन मुटु र आँखामा हुन्छन्
विश्वास रेटिएकाहरू, कहिले आफ्ना हुँदैनन् ।

३. समय
समयले जिन्दगीलाई आँधी हरी बनाउँछ
कहिले ढ्याङ्ग्रो, कहिले बाँसुरी बनाउँछ
उफ १ मन त कहाँ हुन्छ र कठोर ढुङ्गा हुने यस्तै हो,
र पनि कहिले निष्ठुरी बनाउँछ ।

४. तटस्थता
कसैको प्रशंसा गरेर, कसैलाई खुसी पार्नु पनि छैन अरूलाई भुत्याएर, आफूलाई तिखार्नु पनि छैन अनन्त,अविरल बगिरहने, म एउटा हिमनदी हुँ आफू भरिनका लागि, अरूलाई निखार्नु पनि छैन ।

५. भिन्नता
तिमी हिँड्ने र म हिँड्ने, बाटो फरक छ
तिम्रो मेरो भोगाइको, पाटो फरक छ
तिमी फुल्यौ मीठो गुलाफ, काँस फुलें म
हामी बिचको अन्तर, माटो फरक छ १

प्रतिक्रिया