मंगलबार, जेठ १, २०८१

‘आफूमा आएको परिवर्तनले आफैं छक्क पर्दै थिए’

नेपालखोज २०७७ माघ १७ गते ११:००

मलाई लाने चाहिँ कहाँ हो, एसओएस । एसओएस भनेको त्यो घर नै घर भएको ठाउँ होइन ? मलाई छिर्न त दिँदैन । उहि कपाल फुलेका बुढा सरलाई भने, हामीले भनेपछि छिर्न दिन्छ । एक महिनाअघि त्यहि एसओएसको पालेले लखेटेको सम्झिएँ । जान त मन थिएन, तर हेड्बिन गुमाउन पनि मनले दिएन । मेरा लागि त्यो गल्लिहरु नै प्यारा थिए ।

बानेश्वर मन्दिर, ती बाटाहरु अझ धेरै माया त त्यो रोडका कुकुरहरुको लाग्थ्यो । त्यो ढल अरुलाई गन्हाउने थियो होला, तर मलाई त बानी परिसकेको थियो । त्यो छोडेर जान मन लागेन । तर, उनिहरुले देखाएको माया त्यो भन्दा कम थिएन । म दोधारमा थिएँ । सडकको दयनीय अवस्थालाई छोडेर स्वर्णीम संसारलाई मेरो उद्देश्य बनाउनु थियो । हेड्बिन र गाजलको लोभमा भएपनि म एससोएस जान राजी भएँ ।

एकै छिनमा चिल्लो गाडीमा चढेँ । एसओएसको गेटमा पुग्दा पहिले लखेट्ने पाले दाईले उल्टै सलाम ठोकेर गेट खोली दिए । पहिलो दिन मलाई नुहाइ दिए, कपाल कोरिदिए र नयाँ लुगा लगाइदिए । त्यो बखत मैले आफूलाई एकदमै भाग्यमानि भएको महशुुस गरेँ । माया र हेरबिचार गर्ने अभिभावक जस्तै मान्छेहरु पाएको थिएँ र, रमाइलो गर्ने साथीहरु पनि । हुन त आफ्नो आमा होइनन्, तर आमाको अभाव नहुने भयो । यहाँको आमाले सैतेनी आमा जस्तो होइन आफ्नै आमाले जस्तो माया गरेको पाएँ । यहाँको वातावरण आफ्नो परिवारभन्दा केहि फरक थिएन । हाँस्दै थिएँ, रमाउँदै थिएँ, जे गर्दै थिएँ आफूलाई सन्तुष्टिको महलमा रंगीन होली खेलिरहेको जस्तो अनुभव गर्दै थिएँ ।

हप्ता महिना हुँदै वर्ष वितेको अत्तोपत्तो भएन । धेरै वटा दशैं मनाइयो । तिहार मनाइयो रिंगटा लाग्ने गरी रोटे पिङ पनि खेलियो । देउसी भैलोमा पनि उत्तिकै नाचियो । नयाँ साथीहरु बनाइयो । सडकमा एक हप्ता विताउँदा जुग वितेको जस्तो लाग्थ्यो । तर, यहाँ धेरै वर्ष विताइसक्दा पनि महिना सकिएको जस्तो पनि भएन ।

म उन्नत जातको फुल जस्तो हुर्किदै थिएँ, फक्रँदै थिएँ । आफूमा आएको परिवर्तनले आफै छक्क पर्न लागेको थिएँ । सल्लक परेको काक्रो जस्तो भएको थियो मेरो शरीर । समयसँगै आएको परिवर्तनले गर्दा शरीरको आकार ढाँचा फरक हुँदै थियो । म बालापनलाई बिस्तारै छोड्दै थिए, मेरो किशोरी अवस्थाको आगमन हुँदै थियो । साथीहरुसँग पनि प्रायः वितरित लिंगकै बढी कुरा हुने गर्थ्यो । सानो–सानो कुरामा बढी हाँस्न लागियो । ओइ त्यो ९ कक्षाको दाईको त जुंगा आएछ भनेर हाँसोको कोलाहाल मच्चिन्थ्यो । हेल्थ टिचरले पढाएका ती कोर्सहरुमा टाउको निहुर्याएर बसिन्थ्यो । आज त सिमरनले सुमनलाई प्रपोज गर्यो रे, कक्षा भरी हल्ला पुग्थ्यो । हरेक कुरालाई साथीहरुले विशेष रुचि दिएर फैलाउँथे । हाँसी मजाकमा मात्र होइन पढाइमा पनि उत्कृष्ट हुँदै थिएँ । एसओएसमा कहिल्यै पनि दोस्रो भइँन । ९ कक्षामा पढ्दा प्रेम प्रस्ताव पनि धेरै नै आएका थिए । यस्ता कुरामा खासै रुचि लाग्दैन थियो मलाई । प्रितम भन्ने केटाले मलाई एकदमै मन पराउँथ्यो ६ कक्षादेखि नै । ९ कक्षा पढ्दासम्म हजारौं पटक प्रेम प्रस्ताव राख्यो उसले । उ म भन्दा ज्यादा मेरो पढाईप्रति फिदा थियो । कयौं पटक पढाईको तारिफ पनि गर्थ्यो । सरले सोधेको उत्तर मैले खररर भन्दा मलाई एकोहोरो भएर हेरिरहन्थ्यो । मलाई कसैले जिस्कायो भने उ जुध्न जान्थ्यो । मेरो वरपर घुमिरहन्थ्यो ।

एकदिन प्रितम मेरो मेरो छेउमा आएर बस्यो । त्यो बेला केटा केटीसँगै बस्नु भनेको ठूलै कुरा मनिन्थ्यो । उ मेरो छेउमा बस्दा मलाई एकदम अप्ठ्यारो भयो । र, मैले सोधे, किन प्रितम आज मेरो छेउमा आएर बसेको ? उ हड्बडाउँदै उठ्यो । ए… अँ साइन्सको कापी लिन आएको । मैले आफ्नो कापी दिएँ, तर उ त्यहीँ उभियो । त्यसपछि मैले सोधें के भयो प्रितम ? उसले भन्यो, प्रगति सुनन मलाई तिमीले नाक खुम्च्याएर बोलेको एकदम मनपर्छ । अनि मैले तिमी जाऊ अहिले, पछि कुरा गरौंला भनेर पठाइदिएँ । क्रमशः……..

प्रतिक्रिया