निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

लमजुङ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ ।
आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ ।
यस आयोजनाले बिहीबारदेखि बाँधस्थलमा खोला थुनेर इनटेक, फिल्डर पाइपको परीक्षणसमेत शुरु गरिरहेको छ ।
त्यस्तै पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायतका अधिकांश निर्माण कार्य सम्पन्न भएको आयोजना साइट इन्चार्ज ज्ञवालीको भनाइ छ । हालसम्म पनस्टेकको ७०० मिटरमध्ये ७० मिटर काम गर्न बाँकी छ ।
तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको आयोजना साइट इन्चार्ज ज्ञवालीले बताए । पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो ।
सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो । सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि गत चैतसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन ।
यसरी पटकपटक निर्माणको म्याद थप गर्दै अघि बढेको यस आयोजनाले अब भने निर्धारित समयमै काम सम्पन्न गर्ने जनाएको छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेकाले हाल १५० कामदारले मात्र काम गरिरहेका आयोजनाले जनाएको छ ।
आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँशीशहर नगरपालिका–११ रामचोक बेँशीमा विद्युत् गृह रहेको छ । शुरुमा रु चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदैँ गएकाले रु चार अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।
यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए० को ३५ दशमलव सात, आइएमई गु्ररुपको ३४ दशमलव तीन र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो ।
आयोजनाको अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेका छन् ।
प्रतिक्रिया