शुक्रबार, वैशाख १४, २०८१

सन्दर्भ कानुन दिवस : सानालाई ऐन, ठूलालाई चैन

सुनिल सापकोटा २०७८ वैशाख २६ गते १०:५३

आज कानुन दिवस । नेपालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउने गरिएको छ । दुनियाँको कुनैपनी देशले आफ्नो देशभित्र विभिन्न किसिमका अपराधहरु नियन्त्रण गर्नको लागि विभिन्न प्रकारका कानुनहरु निर्माण गरेको हुन्छ । संविधान, कानूून र नियमहरु फरक जस्तो भएपनी खासमा सबै कानुन नै हुन् । छोटोमा भन्ने हो भने राज्यमा हुने विभिन्न किसिमका अपराध नियन्त्रण गरि शान्ति र सुव्यवस्था कायम गर्न नै कानुनको जन्म भएको मानिन्छ ।

यूरोप, अमेरिका वा हाम्रो छिमेकि मुलुक भारतको तुलनामा पनि हामी कहाँ अझैसम्म पनि पूर्णरुपले निस्पक्षरुपमा कानुन लागु र पालना भएको देखिँदैन । यहाँ कैयौंपटक संविधान मिचिएको इतिहास देखिन्छ । देश लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा भ्रष्टाचार र अनियमितताको बिगबिगी झन् बढेको जस्तो देखिन्छ ।

नेपालमा संसदीय व्यवस्था असफलताका कारणहरु भनेर उतिबेला स्कुलमा पञ्चायत भन्ने बिषयमा पढेको कुराहरु साच्चै हो जस्तो लाग्ने स्थिति देखिएको छ । अहिले हाम्रो देशका ठूला भनाउदा राजनीतिक दलहरु र नेताहरुको गतिविधि हेर्दा जो कोहिलाई विरक्त लागेको अवस्था छ । राजनीतिबाट नैतिक मूल्य हराइसकेको जस्तै छ । अचेल हरेकलाई राजनीतिमा बाँच्नका लागि गुन्डागर्दी शक्ति ( Muscle power ) र धन शक्ति ( Money power) नभइ नहुने भएको छ । यी दुई शक्तिलाई प्रयोग नगर्ने हो भने राजनीतिमा कोहि पनि सफल हुन सक्ने अवस्था कमजोर हुँदै गएको छ ।

हिजो आज त गुन्डा नै नेता भएको पाइएको छ । ती मध्ये कतिपयमाथी हत्या, हिंसा, चोरी, डकैती, तस्करी, बलत्कारको मुद्दा नै चलिरहेको छ । भ्रष्टाचारमा जेल पर्नु कुनै अपराधिक कार्य मानिएको छैन । फौजदारी अपराधको सजाय काटेर वा पुर्पक्षका लागि जेलबाट बाहिर निस्किदा सयौं किलोको फूलमाला र अबिरका साथ हजारौं पार्टीका कार्यकर्ताले जयजयकार गर्दै जुलुस निकालेर शहर परिक्रमा गराउने कार्य थालिएको छ ।

२०४६ साल यता देशमा दशगुणा बढी भ्रष्टाचार बढ्यो । पहिलेको तुलनामा सडक, ढल, बिजुलिबत्ति, खानेपानी आदि निर्माण कार्यको ठेक्कापटा ठुला राजनितीक पार्टीमा लागेका गुन्डाहरुले पाए । उनिहरु नेताहरुसँग मिले । पार्टीहरुसँग नजिक भएका गाउँटोलका हवाइ चप्पले गुन्डासमेतले नेताहरुसँग साँठगाँठ गरि भ्रष्टचार र अनियमितताद्वारा करोडौं कमाएको सबैले देखेकै कुरा हो ।

नेपालमा अहिले भ्रष्टचार र अनियमितताले सामाजिक मान्यता पाएका छ । जसरी भए पनि पैसा कमायो, ठूलो घर बनायो र कारमा हिड्यो भने जो कोहि प्रतिष्ठित र ठुलाबडामा गनिन्छ । राजनीति ब्यापार अथार्त पैसा कमाउने थलो मानिएको हाम्रो वर्तमान समाजमा नैतिक मूल्यहरु समाप्त हुँदै जानु स्वभाविक हो । भोट (मत) किनेर चुनाव जित्नुलाई समाजले अपराध नमान्ने समाजमा कानुनको के कुरा ?

नेपालमा समयसापेक्ष संविधान र ऐन कानुन बने पनि पूर्णरूपले कार्यान्वयन हुन सकेको छैन । ऐन कानुन र नियमले भन्दा पनि सोर्सफोर्सले काम हुन्छ । यहाँ सानालाई ऐन अनि ठूलालाई चैन भन्ने भनाई पाइला-पाइलामा व्यवहारमाै लागु भएको देखिन्छ । अन्त्यमा कानुन दिवसको अवसरमा सबैमा शुभकामना ।

प्रतिक्रिया