वाग्मती प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापनाको तयारी

नेपालखोज २०७८ वैशाख २६ गते १७:३३

काठमाडौं । वाग्मती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको हो ।

मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टिजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री बस्नेतले भनिन्, ‘प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्त्वपूर्ण स्वास्थ्य उपकरण हो, त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं ।’मन्त्रालयले मेसिन खरिदलगायतका आवश्यक प्रक्रिया पनि सुरु गरिसकेको मन्त्री बस्नेतले जनाइन् ।

अहिले प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब छ । केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न सुरु गरिसकेको छ । अब प्रदेशअन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ ।

मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमका लागि लाग्ने रकमको स्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने र सो प्राप्त भएपछि स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा लेखेर पठाउने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया