कैलालीमा थप पाँच कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख २७ गते १२:२२

कैलाली । जिल्लाको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको मृत्यु भएको छ ।

अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ । त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा राईले जानकारी दिए । उनका अनुसार सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिनाका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो । उनीहरुमध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको आएको छैन ।

अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले उपचार गर्न कठिनाइ भइरहेको मेसु डा राईले बताए । उनीहरुको अस्पतालका बरण्डामा राखेर पनि उपचार भइरहेको छ ।

प्रतिक्रिया