शुक्रबार, वैशाख १४, २०८१

सन्दर्भ मातातीर्थ औंसी : कोरोनाको महामारीमा चाडपर्व

इन्दिरा खड्का २०७८ वैशाख २७ गते १९:४२

सन् २०२० को अन्त्यमा चीनको वुहान शहरबाट सुरुवात भएको कोभिड–१९ ले माहामारीको रुप लिँदै अहिले दोस्रो लहरको रुपमा नयाँ भेरियेन्टसहित विश्वका विभिन्न देशहरूमा फैलिरहेको अवस्था छ । दोस्रो लहरबाट अहिले सबैभन्दा बढी प्रभाव छिमेकी मुलुक भारतमा परेको छ । भारतमा दिनहुँ ४ लाखभन्दा बढी सङ्क्रमित भइरहेका छन् भने ४ हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । स्वभाविक रुपमा खुल्ला सिमाना रहेको र दुवै मुलुकबिच सहजै आवतजावत गर्न सकिने नेपालमा यसको प्रभाव नपर्ने कुरै भएन । भारत कोरोनाको दोस्रो लहरले कहर मच्चाइसक्दा पनि सुरक्षाको लागि आवश्यक तयारी गर्न नसक्दा यसले अहिले नेपालमा पनि डरलाग्दो अवस्था सिर्जना गरेको छ । नेपालमा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिनानुदिन उकालो लाग्दो छ । केही दिन यता प्रत्येक दिन १० हजारको हाराहारीमा सङ्क्रमितहरू थपिइरहेका छन् भने ५० भन्दा बढीले ज्यान गुमाइरहेका छन् । यसैकारण हाल नेपालका ६० भन्दा बढी जिल्लामा लकडाउन लागु गरिएको छ ।

सामाजिक–सांस्कृतिक रुपमा सम्पन्न नेपालमा प्रत्येक हप्ताजस्तो कुनै न कुनै चाडपर्व परिरहन्छन् । महिनौपिच्छे जस्तो ठुलाठुला जात्रा मनाइने गरिन्छ । यस्तो अवस्थामा मानिसहरूको आवतजावत धेरै हुन्छ, भिड जम्मा हुन्छन् र चाडपर्वको उत्सवको मुडमा रहेकाहरूले कोरोना सङ्क्रमणबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउने गरेको देखिँदैन । फलस्वरुप, चाडपर्व सकिएसँगै कोरोना सङ्क्रमितको ग्राफ उकालो लाग्न थाल्दछ । यही बैशाख २८ गते, मंगलवारका दिन ‘मातातीर्थ औंसी’ वा आमाको मुख हेर्ने दिन परेको छ । “मातृ देवो भव” (आमा देवता समान हुन्) भनेर विश्वास गरिने नेपाली जनमानसमा यो पर्व अत्यन्तै महत्वकासाथ मनाइने गरिन्छ । यो दिन चहलपहल पनि बढ्दछ । अहिलेको कोरोना महामारीको समयमा यस्ता चाडपर्व भव्यताका साथ मनाउनु उपयुक्त हुन्छ त ? आफ्नो र आफन्तको ज्यान नै जोखिममा पारेर उत्सव मनाउनु पर्छ होला त ? वा, यस्तो अवस्थामा चाडपर्वलाई कसरी मनाउन सकिन्छ ? भन्ने प्रश्नहरूको सेरोफेरोमा यस लेख केन्द्रित हुनेछ ।

केही दिनअघि समाजिक सञ्जालमा फैलिएको एउटा भिडियोमा एक प्रहरीले मन्दिर परिसरमा पूजापाठ गर्न भेला भएका मानिसहरूलाई फर्कन आग्रह गर्दै थिए भने केही व्यक्तिहरू प्रहरी ‘हस्तक्षेप’प्रति असन्तुष्टी व्यतm गरिरहेका थिए । के यो सांच्चै असन्तुष्टी व्यक्त गर्ने बेला हो त ? स्मरण रहोस् केही हप्ताअघि मात्रै भारतको हरिद्वारमा कुम्भमेला सम्पन्न भएको थियो । प्रत्येक १२ वर्षमा एकपटक आयोजना गरिने उक्त कुम्भभेलामा भारतका विभिन्न राज्यका र नेपालकासमेत गरी लाखौँ भक्तजनहरूको उपस्थिति थियो । यो पटक एक महिनाको लागि सिमित गरिएको कुम्भमेलाका क्रममा ७० लाख भक्तजनहरूले गंगा नदीमा स्नान गरेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेला सकिए लगत्तै कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो । मेला सकिएको १ हप्ताभित्रमा मेलाका क्रममा स्वास्थ्य उपचारमा खटिएका ६५ जना स्वास्थ्यकर्मी र १७५ साधुहरूमा कोरोना भाइरस देखियो । उक्त मेलामा प्रमुख आतिथ्य ग्रहण गरेर फर्किएका नेपालका पूवराजा ज्ञानेन्द्र शाह र उनकि पत्नी कोमल शाह पनि अहिले कोरोनाबाट सङ्क्रमित भई काठमाडौंको एक अस्पतालमा उपचाररत छन् । नेपालबाट मात्रै लगभग २ लाख सहभागी भएको कुरा मेलाका आयोजकहरूले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कुम्भमेलामा भेला भएकामध्ये एकचौथाई सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।

नेपालमा अघिल्लो वर्ष कोभिड १९ माहामारीको पहिलो लहरको समयमा मनाईएको रातो मच्छेन्द्रनाथको जात्रामा सहभागी हुनेहरूमध्ये धेरै कोरोना सङ्क्रमित भएको बिर्सनु हुँदैन । कोभिड १९ का बिरामीहरू र मृत्यु हुने संख्याको चाप बढिरहेको समयमा प्रहरी र सर्वसाधारणबीच भएको भिडन्त, ठूलो जमात मानिहरूको भीडले त्यस बेला पनि स्थिति तनावग्रस्त बनेको थियो । ती सम्झ्नाहरू नसकिदैं यस वर्षको लागि भनेर पुनः जात्राको तयारी सुरु भएको छ । यदि सावधानी नअपनाईकन जात्रा सञ्चालन गरिएमा अहिलेको चुनौतीपूर्ण समयमा कस्तो प्रभाव पर्ला भनेर सबैमा चिन्ता छाएको छ ।

आगामी दिनहरूमा यस्ता चाडपर्वहरू आइरहेका हुन्छन् । नेपालमा जातीय तथा धार्मिक विविधतासँगै चाडपर्व र संस्कृतिहरूमा पनि विविधता छन् । यस्तै चाडहरूमध्ये नजिकिँदै गरेको मातार्तीथ आंैसी पनि एक रहेको छ । मातार्तीथ औंसी नेपालीहरूले मनाउने गरेको चाडहरूमध्येको एक विशेष चाड हो । यो चाडलाई आमाको मुख हेर्ने दिन भनेर पनि बुझ्ने गरिन्छ । यो दिनमा निश्र्वाथ प्रेमभाव, स्नेह र आदरसहित आमालाई पुज्ने गरिन्छ । हरेक वर्ष वैशाख कृष्ण आंैैसीको दिन मनाईने यस पर्वमा आमा जीवित नहुनेहरूले आमाको संझनामा पंडितलाई सिधादान गर्ने चलन छ । प्रायजसो काठमाडौं र सेरोफेरोमा बस्नेहरू काठमाडौबाट ९ कि.मि. उत्तर–पश्चिमस्थित मातातीर्थमा गएर श्राद्ध वा पिण्डदान गरी आफ्नो स्वर्गवासी आमालाई सम्झिने गर्दछन् । उक्त दिन मातातीर्थमा हज्जारौंको सङ्ख्यामा मानिसहरू भेला हुन्छन् । मातार्तीथ औंसीमा हामी नेपालीहरू आ–आफ्ना आमालाई मनपर्ने मिठा खानेकुरा, नयाँ कपडा वा केही उपहारसहित उनलाई भेट्न जाने गर्छौं ।

तर, अहिलेको कोभिडको महामारीको समयमा आमाको मुख हेर्नेभन्दा आमाको सुस्वास्थ्य, दिर्घायु र उनको जीवनरक्षा सबैको प्राथमिकतामा पर्नु पर्दछ । यस्तो बेला आमालाई श्रद्धा, माया र सम्मान गर्ने नाममा कतै हामी कोरोना भाईरस पनि लिएर त गइरहेका छैनौ ? कतै अञ्जानवस हामीले आफ्नो प्राणभन्दा प्यारी आमालाई कोरोनाबाट सङ्क्रमित गराउँदै त छैनौ ? सबैले गम्भीरतापूर्वक सोँच्नुपर्ने हुन्छ । तसर्थ, यस्तो बेला परम्परागत रुपमा प्रत्यक्ष भेटेर नै आमालाई सम्मान गर्नुपर्छ भन्ने छैन । हामीले विभिन्न तरिकाहरू अपनाएर यो चाडलाई मनाउन सक्छौँ । प्रविधिले प्रशस्त उपायहरू उपलब्ध गराएको छ । वर्तमान समयमा धेरैले प्रयोग गर्दै आएको भच्र्युअल विधिबाट आमासँग खुसी बाँड्न सक्छौँ । फोन या अन्य प्रविधिको सहयोगमा आमासँग सञ्चार गर्न सक्छौँ । त्यस्तै तरिकाबाट आमासँग बिताएका सुखद समय र पुराना यादहरू आदान–प्रदान गरी आमालाई सम्मान गर्न सकिन्छ । आमासँगै बस्ने छोराछोरीहरूले पनि बजारबाट सामग्री किनेर ल्याउनुभन्दा घरकै स्रोतसाधन प्रयोग गरी मिठा परिकारहरू बनाएर खुवाउन सकिन्छ । आमाको काममा सहयोग गरी र आमालाई विषेश तरिकाले खुसी महशुस हुने किसिमका कामहरू गरेर पनि यो चाड मनाउन सकिन्छ । आफ्नी आमालाई कोरोना सङ्क्रमणबाट बचाउनु र उनको स्वास्थ्यलाई सुरक्षित राख्न सक्नु नै अहिलेको समयमा आमाको लागि सबैभन्दा महत्वपूर्ण उपहार हुनेछ । यो कुरालाई सबैले मनन गरौँ ।

आमाको स्नेह र मायालाई बयान गर्दा अमेरिकी र्चचित कलाकार लियोनार्दो दि क्याप्रीले भनेका छन्, “मेरी आमा जीवित चमत्कार हुन् ।” हुन पनि हामी सबैको लागि आमा हाम्रो जीवनमा खुसी भर्ने चमत्कार नै हुन् । आमा साँच्चै नै प्रकृतिको अनुपम हुन् हामी छोराछोरीहरूको लागि । हरेक सुख–दुःखसँग जुधेर हाम्रो जीवनलाई यो अवस्थासम्म ल्याउने आमाप्रति समर्पणको भाव व्यक्त गर्ने यो चाड अत्यन्तै महत्वपूर्ण चाड हो । यो हाम्रो संस्कृतिले निर्माण गरेको विशेष उपहार हो । यस्ता चाडपर्वले समाजमा सबैलाई एकअर्काप्रति समर्पित हुन र सम्बन्धलाई प्रगाढ बनाउन मदत गर्दछ । यस्तो चाडपर्वको हामीले संरक्षण गर्नुपर्छ । तर, अहिलेको कोरोना–त्रासको समयमा यो चाडलाई सुरक्षित तरिकाले मनाऔँ । तसर्थ, यस वर्षको मातातीर्थ औंसी आफू पनि र आमालाई पनि सुरक्षित बनाई सभ्य र सरल किसिमले मनाऔं । कतै आफ्नो सानो लापरवाहीले आमाको ज्यान जोखिममा त पारेका छैनौँ भनेर सोचौँ । साथै, कोरोनाबाट जोगिन लागु गरिएका नियमहरूको पूर्ण कार्यन्वयन गरौँ । सार्वजनिक जनमानसमा त्रासको वातारण सिर्जना नहोस् । त्रसित भएर समस्याको समाधान हुँदैन, यसको लागि सचेतता र सर्तकताको आवश्यकता पर्दछ । आपूm पनि सुरक्षित रहौँ र आफ्नी आमाको पनि सुरक्षा गरौँ । चाडपर्व त वर्षेनी आउँछन् । अर्कोवर्ष मातातीर्थ औँसी धुमधामसँग मनाऔँला । यो वर्ष आमाको स्वास्थ्यको सुरक्षामा समर्पित हौऔँ ।

लेखक स्तुपा कलेजको अनुसन्धान शाखामा आवद्ध अनुसन्धानकर्ता तथा पोषण सुधार अभियानमा सङ्लग्न अभियन्ता हुन् ।

इन्दिरा खड्का

लेखक इन्दिरा खड्का स्तुपा कलेजको अनुसन्धान शाखामा आवद्ध अनुसन्धानकर्ता तथा पोषण सुधार अभियानमा सङ्लग्न अभियन्ता हुन् ।

प्रतिक्रिया