बिहीबार, वैशाख १३, २०८१

मेरो सबैभन्दा पुरानो माया

जितु साउँद २०७८ वैशाख २८ गते १५:१४

सानो छँदा
पाइला सार्न खोज्दै
लड्छ भनी
कोमल औंला समात्दै
लथ्रयाङ लुथ्रिङ हिँड्न सिकाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

सुत्ने बेला
कथा सुनाउथेऊ त,
कहिले लोरी गाउँथेऊ
म तोते बोलीमै
हजुर भन्दाभन्दै सुत्दा
मेरो गालामा म्वाइँ खाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।
त्यो धुलोमाटोमा
दिनभरी खेल्थे
साँझ फर्किंदा
थकाइले मर्थे
खाना नखाई
त्यो न्यानो काखमा
भुसुक्क निदाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

एक पल नदेख्दा
चिन्तामा पर्थ्यौ
आफूले नखाई
मेरो पेट भर्थ्यौ
को-खाई को-खाई गर्दै
पुल्पुलाई खुवाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा ।

म रुवाउन खोज्थें
मन्द हाँस्थ्यौ
म ठुस्किन खोज्थेँ
अँगालोले बाँध्थ्यौ
त्यति धेरै माया गरेको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा ।
तर आज हजुर एक्लै
म एक्लै
छुट्टिनु पर्दाको
पीडा हुन्छ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा ।।

प्रतिक्रिया