तीजको कथा सासू बुहारी को झगरा : मोतीराम भट्ट

आज कुशे औंसी मोतीराम भट्टको जन्मजयन्ती तथा पूण्यतिथि पनि हो । वि.सं. १९२३ मा कुशे औसीमा जन्मेका थिए भने वि.सं. १९५३ को कुशे औसीमा नै स्वर्गीय भएका थिए ।
हुन त मोतीरामलाई नेपाली गजल बिधाका पिता भनेर पनि भनिन्छ । तर सबैभन्दा महत्वपूर्ण भने उनले नै भानुभक्त आचार्यका बारेमा सबै सामु पहिलो पटक प्रस्तुत गरेका थिए । मोतीरामका धेरै पुस्तकहरु पढ्न पाइन्छ ।
मोतीराम भट्टको जन्मजयन्तीको अवसर मात्रै होइन महिलाहरुको तीज पनि आइरहेको हुँदा दुबै अवसरलाई साथ साथ मनाउनका लागि यहाँ मैले मोतीराम भट्टको हास्यप्रधान तीजको कथा राखेको छु । कतिले यो हास्यप्रधान कविताको बारेमा सुनेको पनि छैनन् होला । तीज आज मात्रै होइन झण्डै १३७ वर्ष अगाडि पनि उस्तै रहेछ ।
पुस्तकको स्क्यान गरिएको पन्नामा अक्षर पढ्न कठिनाइ हुन सक्ला भनेर मैले पुरै कविता यहाँ राखिदिएको छु । पढेर रमाइलो मनाउनुहोला ।
तीज को कथा सासू बुहारी को झगरा
(अर्थात् नारी हरु को नवीन अवस्था )
वर्षा का ऋतु मा भदौ छ महिना श्री शुक्ल पक्षे महां ।
तिज् भन्या दिन नारि जाति हरु मा पूजा शिवा को हुन्या ।
पाप् को ध्वस्त गरी कमाई बहुतै पुण्यै हलू की भई ।
यस्तो यो हरि तालिका ब्रत हुन्या तन् मन् र चित्तै दिई ।।१।।
तेस्को वर्णन आज मो गरु भनी मन् मा इरादा धरी ।
जो यस् बुद्धि गरी स्त्रिजाति हरु को भक्ती चिताई वरी ।।
लेख् छु सासु बुहारि को पनि कथा दर् को र तीज् को पनी ।
सुन्ना ले फल पाइने अति ठूलो यै हो कथा पो भनी ।।२।।
सासू ता घर मा बुहारि हरु की साह्रै दयालु थिइन् ।
धोती को मन सुब् नञा ति गरदै मार्कीन को थान् चिरिन् ।।
दश् हात् का फरिया बुहारि हरु ले पाई बहुत दिक् भया ।
दिक् मानी मन मा बहुत रिस गरी प्वै का नजिक् मा गया ।।३।।
सुनन सुनन स्वामी तीज को दिन् छ भोली ।
अब त मकन देऊ धूप छांयां कि चोली ।।
मल मल कि त तन् जेब् तीस हल्का फरिया ।
असल रङ विरङ् का देउ चूरा हरीया ।।४।।
सङिनि हरु बिहानै निस्कनन् ठांटिया का ।
कसरि सहि रहुँला सब् ति खूशी भया का ।।
यति भनि ति रुँदै छन् सासु को चुग् ली गर्दै ।
सरक उठि ति स्वामी निस्कि जल्दी बजार् गै ।।५।।
प्रिया का फर्मासी लिइ वरि ति आया घर महां ।
दिया आफ्ना नारी हरु कन लुगा तेस् बखत मा ।।
फरीया सासू को कसरि ति बुहारी हरु लिनन् ।
बडा गल् था धोती पहिरि घर रातभर् ति डुल छन् ।।६।।
दर् खान्या दिन मा बुहारि घर मा सासू पनी साथ मा ।
पाक् छन् सेल पुरी फिनी अनरसा घेवर् पनी चीनि मा ।।
लड्डु गुप् चुप बालु साही बरफी केरा चिनीया किनी ।
खान् छन् पेट भरी यही रित गरी भर् दिन् र रात् मा पनी ।।७।।
तिज् को बिहान सब को मुख क्या हँसीलो ।
प्वै बेचि धोति मिलन्या बहुतै सजीलो ।।
यै रीतले सहज मा दिन भर्बिताया ।
सांझ् मा पुजा गरु भनी सब ले चिताया ।।८।।
भोका भर्दिन का पुजा ति गरदा प्रोहित् पुराना थिया ।
आच् मन् का बिधि मा ति पेट भरन्या आच् मन् पचासन् गर्या ।।
आबाहन् गर भन् छ प्रोहित भने चन्दन् चढाई दिने ।
आसन् का बिधि मा गजब् ति गर ने नैबेद्य सारी दिने ।।९।।
थाहा सुद्दि हुंदैन भोक बहुतै लाग्यो र झन् का दियो ।
हाहु हाहु गरी बडा कठिन ले पूजा समाप्ती भयो ।।
हिड्ना को रति छैन बल् तर पनी हिड् छन् गरुन पो कसो ।
यस्तो रित् गरि फल् हुने अति कठिन् बुद्दी कसो हो कसो ।।१०।।
पूजा राति गरी बहूत झरकी खाना कि मन् सुब् गरी ।
दर् बाकी घर मा छ छैन मन मा भन्दै चहारीवरी ।।
यौटा सेल लियेर खाउं म भनी मन्टो लुकाई पनी ।
सासू ले पडकाई ठोकि बहुत्तै खालिस् बजीनी भनी ।।११।।
सुसुक सुसुक रुन् छिन् धोति ले आँसु पोच् छिन ।
ढोक पनि तित दिन्नन कंढो फर्काइ बस् छिन् ।।
मन मन ति बुहारी सासु को भस्म गर्छिन् ।
यति गरि ति बुहारी तीज को बर्त सक् छिन ।।१२।।
जस्ले यो हरितालिका ब्रत कथा सुन्या छ तन् मन् दिई ।
तेस्का दु:ख अनेक् अनेक् जनम का छुट्नन् जरुर् नाश् भई ।।
यस्लोक मा सुख भोगला पछि पनी सन्सार सागर्तरी ।
कैलाश् बास् कन पाउला मगन मा पर्ला तहां बेस् गरी ।।१३।।
इति हरितालिकाब्रतकथा मोतिरामभट्ट कृता समाप्ता: ।
प्रतिक्रिया