बुधबार, असार २, २०७८

कोरोना महामारीले सुनसान मातातीर्थ

नेपालखोज २०७८ वैशाख २८ गते १६:४०

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेकस्थित चन्द्रागिरि नगरपालिका ६, थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भिड लाग्थ्यो ।

कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा आज मातातीर्थमा लाग्ने मेला स्थगित गरेपछि सुनसान भएको हो ।

प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गत वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो । जसका कारण गत वर्ष पनि मातातीर्थ मेलाका दिन यो स्थान सुनसान बनेको थियो ।

आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले बताए ।

यद्यपि नजीकैका केही स्थानीयवासी भने मातातीर्थमा आएर पूजाआराधना गरेका थिए । हजारौँको भीड हुने दिन एक, दुईजना आए पनि मातातीर्थ सुनसान बनेको छ । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने विधिवत् सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ । मूर्ति स्थापना भएपछि यहाँ पूजा गर्ने भक्तजनको पनि भीड लाग्ने गरेको थियो । मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो ।

एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए । कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् ।

त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चीज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसीसमेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमासमेत हुन्छिन् ।

बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोराछोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिने शास्त्रीय मान्यतासमेत रहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नु पनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

महामारीको यो बेलामा वचन वा भावले नै आमाप्रति सम्मान भाव प्रकट गर्न सकिने वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया