सोमबार, वैशाख १५, २०८२

अक्सिजनसहितको १५ शय्याको आइसोलेसन

नेपालखोज २०७८ वैशाख ३१ गते ११:०९

चितवन । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेशनको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताए ।

भरतपुर महानगरपालिकाले कोभिड–१९ को दोस्रो प्रकोप रोकथाम तथा सङ्क्रमितको उपचारका लागि आइसोलेसन तयार गरेको हो आवश्यकअनुसार आइसोलेसन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ ।

कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उनले बताए।

कोभिड-१९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधि, स्वास्थ्य मापदण्डको पालना, बिरामीको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उनले जानकारी दिए।

उनका अनुसार कोभिड-१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ ।

महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेसन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेसन निर्माण गर्ने तयारी गरेको छ ।

महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेसन निर्माण गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेसन सञ्चालन गरेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १४ का अध्यक्ष ओमप्रकाश पोखरेललगायतले बोल्नुभएको थियो । कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा कोभिडका सङ्क्रमितले निःशुल्क पाउनेछन् ।

अस्पतालमा दुई मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववतरूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।

प्रतिक्रिया