कोरोना संक्रमितका लागि यी खानेकुरा विष समान

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण आज समस्त विश्व आक्रान्त छ । दैनिक लाखौंको संख्यामा मानिस संक्रमित हुन र हजारौंको संख्यामा मारिन थालेपछि यो रोगको त्रासले विश्व नै प्रभावित बनेको छ ।
हाम्रो देशमा पनि हजारौंको संख्यामा संक्रमित थपिन थालेपछि यो रोगलाई कसरी नियन्त्रणमा लिने भन्ने राष्ट्रिय चिन्ताको विषय बनेको छ। पछिल्लो समय कोरोना भाइरसको दोस्रो भेरिएन्टका कारणले लाखौं मानिस एकसाथ संक्रमित हुन थालेपछि एकतिर स्वास्थ्य सेवा र अक्सिजन नपाएर मानिसले ज्यान गुमाइरहनुपरेको छ । संक्रमणका क्रममा के खाने के नखाने भन्ने ज्ञान नहुँदा आज संक्रमितहरूले जथाभावी खाने गरेको र रोग बिगारेर झन् सिकिस्त भएर ज्यान गुमाउनुपरेको छ । यसै सन्दर्भमा कोरोना भाइरसबाट संक्रमितहरूले खान नहुने खानेकुराबारे तल उल्लेख गरिएको छ ।
कोरोना संक्रमितले के नखाने ?
कोभिड-१९ का रोगीहरूले एकातिर प्रतिरक्षा प्रणालीलाई असर गर्ने खानेकुराहरूको सेवन गर्नु हुँदैन । अर्कोतिर औषधोपचारका साथ साथै स्वस्थ आहारको सेवन पनि गर्नुपर्छ । संक्रमणको समयमा खानपिनमा गडबडी भयो भने, यो निको हुन धेरै समय लाग्न सक्छ वा रोग झनै जटिल बन्नसक्छ । यसर्थ खानपिनको विशेष ख्याल राख्नुहोस् । प्रतिरक्षा प्रणालीलाई असर गर्ने खाने कुराहरूको सेवन गर्दै नगर्नुस् र रोग प्रतिरोधक क्षमता बढाउने खानेकुराहरूलाई खानामा समावेश गर्नुहोस् ।
१. जंकफुड : सबल प्रतिरक्षा प्रणालीका लागि सन्तुलित, प्रकृतिक एवं पौष्टिक खानाको ठूलो महत्त्व छ । खानाको गुणस्तर खस्किँदा प्रतिरक्षा प्रणालीको कार्यक्षमता पनि खस्किन्छ । त्यसमा पनि जंकफुड, रिफाइन्ड फुड र मिलावटी खानेकुराको सेवनले प्रतिरक्षा प्रणालीलाई आघात पुर्याउँछ ।
यी खानेकुरामा प्रचुर मात्रामा स्याचुरेटेड फ्याट, प्रशोधित चिनी, चाहिनेभन्दा उच्च मात्रामा नुन, स्वादवर्द्धक रसायन, अजिनोमोटोजस्ता प्रिजरभेटिभ हालिएको हुँदा यी रसायनहरूले प्रतिरक्षा प्रणालीलाई असर पुर्याउँछ फलतः घाउ-खटिरा छिटो निको नहुने, क्यानसरको जोखिम बढ्ने, मुटु तथा रक्तनलीका रोग लाग्ने, एलार्जीले सताइरहने र प्रतिरक्षा प्रणाली आत्मघातीसमेत हुने गर्दछ । कोरोना संक्रमणका दैरान जंकफुडको सेवन गर्दा संक्रमण झनै जटिल बन्दै जान्छ ।
२. कोल्डड्रिङ्स : कोकाकोला, पेप्सीकोला, फ्यान्टा, मिरिन्डा, ड्यू, स्प्राइटजस्ता पेय पदार्थ जसलाई कार्बोनेटेड सफ्टड्रिंक पनि भनिन्छ- यसको सेवन गर्नु हुँदैन । कोल्डड्रिंसको सेवन गर्नाले सर्वप्रथमतः यसले पेट हुस्स पारिदिने र श्वास फेर्न गाह्रो बनाइदिने गर्छ । यसैगरी कोल्डड्रिंसमा उच्च मात्रामा हालिएको चिनीले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ भने भाइसरको वृद्धिलाई टेवा पुर्याउँछ । यसर्थ कोरोना संक्रमणका क्रममा कोल्डड्रिंसको सेवन नगरौं। बरू कोल्डड्रिंसको साटो फलफूलको ताजा रस, कागती पानी, जडीबुटी खाने गरौं।
३. तारे-भुटेको खानेकुरा : कोभिड-१९ को संक्रमणपछि धेरैजनालाई गन्ध र स्वाद हराउनेजस्ता समस्या देखा पर्छन् । यसो हुँदा अधिकांशले तारे-भुटेको, अमिलो पिरो हालिएको, चटपटे, खानेकुराहरू खान खोज्छन् । यदि तपाईं पनि कोरोनाबाट संक्रमित हुनुहुन्छ वा भर्खरै संक्रमण जितेर रिकभरी फेजमा हुनुहुन्छ भने यस मामिलामा, आफूलाई अलि नियन्त्रण गर्नुहोस् । मसलादार र तारे-भुटेका खानेकुराहरू नखानुहोस् । किनकि तारे-भुटेको खानेकुराहरूमा चिल्लो पदार्थको अधिकता हुन्छ, जसले पचाउन धेरै समय लाग्छ। तारे-भुटेको खानेकुराले पाचन प्रणालीलाई पनि असर गर्छ । विभिन्न अनुसन्धानहरूले दर्शाएअनुरूप उच्च चिल्लो भएको खानेकुराले प्रतिरक्षा प्रणाली राम्रोसँग काम गर्न दिँदैन साथै खराब कोलेस्ट्रोललाई पनि बढाउँछ । यसर्थ कोरोना संक्रमणका दैरान तारे-भुटेका, चटपटे, अमिलो-पिरो हालिएको, खानेकुराहरू खाँदै नखानुहोस् ।
४. मसालेदार खाना : स्वाद र सन्तुष्टिका लागि खानामा उच्च मात्रामा मसला हाल्ने चलन पुरानै हो । यदि तपाईं कोरोना संक्रमित हुनुहुन्छ भने मसालेदार खानाबाट टाढा रहनुपर्छ। मसलादार खाना खाँदा घाँटीदुख्ने, पेट हुँडल्ने, छाती पोल्ने, वायु बढ्ने र पेटसम्बन्धी अन्य समस्या हुन सक्छन् । मसलादार खानाले कफको व्याधिलाई पनि बढाइदिन्छ । फलतः समस्या कोभिड रिकभरी सुस्त हुनेसँगै समस्या जटिल हुँदै गएर ज्यानै पनि जान सक्छ ।
५. बोतलका खानेकुराहरू : बोतल र बट्टाबन्द खानेकुराको सेवन, कोरोना संक्रमितका लागि विष समान मानिन्छ । यी खानेकुराको सेवनले कोरोना संक्रमणका जटिलतालाई झनै बढावा दिने गर्छ । यसो हुनुको कारण के-हो भने बोतल र बट्टाबन्दका खानेकुरामा धेरै प्रिजरभेटिभ र सोडियम हालिएको हुन्छ, जसले तपाईंको इन्फ्लामेसनलाई बढाउने गर्छ । इन्फ्लामेसन बढ्यो भने कोरोना निको हुन लामो समय लिनदेखि संक्रमणको जटिलता बढेर ज्यानै पनि जान सक्छ ।
६. चिनीको सेवन : हामीले मीठो मानी-मानी खाने गरेको चिनी वा चिनी हालिएका खानेकुराहरू स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन् भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ तर वास्तविकता बुझ्दा चिनी हाम्रा लागि मीठो विष हो । चिनीले प्रतिरक्षा प्रणालीका कोषहरूको किटाणु मार्ने क्षमतालाई दुर्बल गराइदिन्छ । यसरी दुर्बल हुनुमा यी कोषहरूलाई यथोचित कार्य गर्न आवश्यक भिटामिन ‘सी’ लगायतका रसायनहरूलाई चिनीले कोषभित्र जान दिँदैन फलतः यी कोषहरूको कार्यक्षमता घट्छ । चिनी यदि चिया, कफी, कोका, सोडाजस्ता पेयको साथमा लिइएको हो भने यी रसायनहरूले प्रतिरक्षा प्रणालीमा अझ धेरै आघात पुर्याउँछ । यसो हुनुको पछाडि चिया, कफी, कोका, सोडामा विद्यमान तत्त्वहरूले स्नायु तन्त्रलाई लठ्याएर धेरै मात्रामा कर्टिसोल उत्सर्जन गर्छ जसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ ।
७. प्रशोधित खानेकुरा : प्रशोधन गरेर प्राकृतिक गुणधर्म नष्ट गरिएका खानेकुराहरू जस्तै प्रशोधित अन्न, मैदाका परिकार, प्रशोधित मासु, संरक्षित खाद्यान्न आदिको सेवन कोरोना संक्रमणका रोगीका लागि विष समान छन् । यी खानेकुरामा प्रचुर मात्रामा, इमल्सिफाएर, प्रिजरभेटिभस् र चिनी, कर्नसिरप, नुन, कृत्रिम गुलियोजस्ता फूड एडेटिभ्स र कृत्रिम रङहरू हालिएको हुँदा यी खानेकुराको सेवनले प्रतिरक्षा प्रणालीलाई कमजोर तुल्याउँछ । यी खानेकुराको सेवन गर्दा पेटको भित्री पत्र सुन्निने, पेटका ब्याक्टेरियाहरू मर्ने आदि हुन्छ । जसले प्रतिरक्षा प्रणाली कमजोर हुनुका साथै प्रतिघाति पनि हुन सक्छ ।
८. रक्सी र चुरोट : हातमा लगाएको रक्सीले कोरोनाका किटाणुहरू मारे पनि खाएको रक्सीले संक्रमणलाई झनै बढावा दिन्छ । रक्सीले शरीरमा प्रतिरक्षक कोषहरूको उत्पादनलाई असर पुर्याउनुका साथै रगत, रक्तनली, नशा, नाडी, मुटु, कलेजो आन्द्रा आदिलाई पनि आघात पुर्याउँछ । यसका अतिरिक्त रक्सीले हाम्रो शरीरमा जलीय माध्यममा हुने अनेकौं जैव रासायनिक प्रतिक्रियाहरूलाई रोकिदिने र चुस्त प्रतिरक्षा क्रियाका लागि चाहिने रसायनको शंष्लेषणलाई समेत प्रभाव पारिदिने हुँदा रक्सीको सेवन वर्जित मानिएको छ ।
यसैगरी धूमपान पनि प्रतिरक्षा प्रणालीलाई अत्यन्त कमजोर पार्ने तत्त्व हो । धूमपान गर्दा धुँवामा विद्यमान अनेकौं हानिकारक तत्त्वहरूले प्रतिरक्षक कोषहरूको कार्य कुशलता कम गरिदिने, कोषहरूमा विद्यमान एन्टिअक्सिडेन्टको गतिविधि निरस्त गरिदिने, धेरैभन्दा धेरै फ्री-रेडिकलहरूको उत्पादन गराइदिने र ती कोषहरूको डीएनएसमेत ड्यामेज गरिदिने गर्दछ । कमजोर प्रतिरक्षा भएकै कारण कोभिड-१९ धूमपानकर्ताहरूमा भयावह बन्ने गरेको छ ।
कोरोना संक्रमितले के खाने ?
कोरोना संक्रमित बिरामीहरूले उच्च खाद्य रेसा भएको खानेकुरा खानुपर्ने हुन्छ । कोदो, फापर, चिनो चामल, कागुनो चामल, जुनेलो र बाजराजस्ता अन्न, हरिया सागपात फलफूल एवं तरकारीमा उच्च खाद्य रेसा पाइन्छ । यसैगरी वनस्पतीय प्रोटिनहरू जस्तै सिमी, बोडी, दाल, ताजा फलफूल र तरकारीहरूलाई पनि आफ्नो खानेकुरामा समाबेश गर्न नभुल्नुहोला ।
कोरोना संक्रमितहरूले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । प्रतिरक्षा प्रणाली वृद्धि गर्न र संक्रमण घटाउन, अमला, कागती, सुन्तला, भुइँकटहरजस्ता सिट्रस फलहरू खानु दिनुपर्छ । अदुवा, लसुन, बेसार, मरिच, दालचिनीजस्ता खानेकुराहरूलाई पनि खानामा समावेश गर्ने गरौं । दिनको दुईचोटि आफ्नो तौललाई १० ले गुणन गरेर प्राप्त योगफल बराबर ग्राम ४ किसिमका मौसम अनुसारका फलफूल सेवन गर्ने गरौं । आवधिक उपवासले पनि कोरोना संक्रमणलाई लगाम लगाउन ठूलो मद्दत पुर्याउने हुँदा आवधिक उपवास गर्ने गरौं ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया