सरकारले भन्यो- आइसोलेसन सेन्टर खोल्ने होडबाजी चल्यो, विनामापदण्डका घातक !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड बिनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।
ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डरलगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो । मंगलबार संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए ।
उनले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए । उनले टोल-टोलमा आइसोलेसन सेन्टरका नामा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति सृजना भएकाले आफुहरु चिन्तित बनेको बताए । उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतिपुर्ण रहेको बताए ।
डा.अधिकारीले कोभिड १९ को उपचार नभईरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे । उनले आइसोलेसन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजनलगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौति पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए । साथै उनले संक्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गरेका छन् ।
प्रतिक्रिया