वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन

नेपालखोज २०७८ जेठ ७ गते ११:२८

काठमाडाैं । वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन आउन थालेको छ ।

आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था भएसँगै गएको एक वर्षमा तीन सयभन्दा बढी व्यक्तिको बैंक खातामा नै आर्थिक सहायता पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

त्यसअघि आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालयमा आफैँ आउन पर्ने अवस्था थियो । तर पछिल्लो समय बोर्डले प्रदान गर्ने सेवाहरू अनलाइन प्रणालीमा गएपछि पालिकाबाटै आवश्यक कागजातसहित निवेदनहरू आउन थालेका छन् । गएको एक वर्षमा भौतिक रूपमा सेवाग्राही बोलाएर आर्थिक सहायता चेकमार्फत दिइएको छैन । 

हिजोआज त कतिपय व्यक्तिहरूले सबै कागजात मिलाएर आफैँले इमेलमार्फत पनि बोर्डमा निवेदन पठाउन थालेको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । 

अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि देशका धेरैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको कारण अहिले बोर्डले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरिरहेको छ ।

बोर्डबाट पाइने आर्थिक सहायता र अनलाइनमार्फत निवेदन दिने प्रक्रियाबारे थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर थप जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया