शपथ लिँदा अब ‘प्रतिज्ञा गर्छु’ शब्द नै भन्नु नपर्ने (अध्यादेशसहित)

काठमाडौं । सार्वजनिक पद तथा गोपनीयताको शपथ लिँदाको व्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न अस्वीकार गरेका थिए ।
राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्न लगाए पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । जसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । एक हप्तापछि बिहीबारको मन्त्रिपरिषद् बैठकले शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम ‘शपथ सम्बन्धी अध्यादेश-२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएका शपथको व्यहोरा यसैबमोजिम भएको मानिने उल्लेख छ ।
यसअघिको शपथको व्यहोरामा ‘सम्बन्धित पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने थियो । नयाँ अध्यादेशमा ‘अधीनमा रही’ भने शब्द हटाएर ‘प्रचलित कानुनको पालना गरी’ भन्ने वाक्य थपिएको छ ।
त्यस्तै ‘मुलुक र जनताको सोझो चिताइ’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताइ’ भन्ने थपिएको छ । शुक्रबार राजपत्रमा प्रकाशित अध्यादेशअनुसार शपथ लिँदा र गराउँदा नेपाली भाषाका अलावा मातृभाषामा पनि लिन पाइनेछ । शपथ लिन र गराउन औपचारिक पोसाक अनिवार्य गरिएको छ । तर, संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित वेशभूषा वा पोसाकमा पनि शपथ लिन सकिने उल्लेख छ ।

प्रतिक्रिया