‘राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार गरे’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर मध्यरातमा मुलुकको संविधान र लोकतन्त्रमा प्रहार गरेको आरोप लगाएका छन् ।
‘कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा नेपाली जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ,’ सिंहले सामाजिक सन्जालमा लेखेका छन्, ‘अक्सिजनको सिलिन्डर खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइरहेकाहरूको जीवनरक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’

कांग्रेस नेता सिंहले ५ वर्षका लागि जनताले निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन नभई मत माग्न जान कुन मानवीयताले दिनसक्छ ? भन्दै प्रतिप्रश्नसमेत गरेका छन् । ‘यो निकृष्ट कर्म हो । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद्माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ,’ उनले भनेका छन् ।
देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने पनि नेता सिंहले बताएका छन् । उनले मध्यरातमा चालिएको असंवैधानिक कदमको भर्सनासमेत गरेका छन् ।

प्रतिक्रिया