खेलाडीका बा भन्छन्- छोरो जीवन माग्छ, अस्पताल पैसा

गुल्मी । गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका ३, ठूलोलुम्पेक घर भई हाल तम्घास खानीगाउँमा बस्दै आएका २५ वर्षीया मोहन तरामुको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो ।
गुल्मीका विभिन्न क्लब हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाई जिल्लाको शिर उँचो राख्न सफल तरामु यतिबेला आफैं जीवन मरणको दोसाँधमा छन् । शुक्रबार छल्दी पनाहास्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा ढुंगामा टाउको ठोक्किँदा उनको ढाड, घाँटी र नशाामा चोट लागेको छ । शुक्रबारै तम्घास अस्पतालमा ल्याइए पनि उपचार सम्भव नभएपछि बुटबलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो । अहिले उनको शरीरको छातीभन्दा तलको भाग निष्क्रिय छ । घाँटीको हाड भाँचिएको र मेरुदण्डको नशा च्यापिएको मोहनका बुबा पूर्ण बहादुरले बताएको खबर राजधानी दैनिकमा छ ।
मोहनलाई शुक्रबारै बुटबल पुर्याइएको थियो । तर एकै दिनमा एक लाख २० हजारभन्दा बढी रकम खर्च भइसकेको र बाँकी रकम आफूसँग नभएकाले सहयोग गरिदिन उनले आग्रह गरेका छन् । लामो समयसम्म माओवादी आन्दोलनमा सक्रिय पूर्णबहादुर पछिल्लो समय खानीगाउँमा सामान्य किराना पसल गर्दै गुजारा चलाएका थिए । अहिले छोराको उपचार गर्न आर्थिक अभाव भए पनि छोरालाई बचाउने रहर भएको भन्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । ‘उपचारका लागि मात्रै आठ लाखभन्दा बढी रकम चाहिने भनेका छन्,’ मोहनका बुबा पूर्णबहादुरले भने, ‘छोराले जीवन माग्छ, अस्पतालले पैसा ।’ मेरुदण्डको अप्रेसन गर्न मात्रै करिब डेढ लाख लाग्ने लाग्ने र नशा च्यापिएको उपचारको लाग्ने रकम यकिन नभएको पूर्णबहादुर बताउँछन् ।
कम्तिमा डेढ महिना अस्पतालमै बस्नुपर्ने भएकाले खर्च अझ धेरै लाग्न सक्ने उनको भनाइ छ । परिवारका पाँचैजना सदस्यहरुको स्वास्थ्य बिमा गरे पनि तिनाउ अस्पतालमा बिमाले काम नगर्दा समस्या भएको उनले बताए ।

प्रतिक्रिया