सर्वोच्च अदालतमा सामूहिक रिट दर्ताको लागि विपक्षी गठबन्धन छलफलमा

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा सामूहिक रुपमा रिट दर्ता गर्ने भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै सकभर एक सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ताको तयारी गरिएको विपक्षी गठबन्धनले जनाएको छ ।
रिट दर्ताको लागि अहिले दलहरु आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसको बैठक सिंहदरबारमा बसिरहेको छ । जसपाको उपेन्द्र-बाबुराम पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा पनि छलफलमा रहेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो ।
तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपति भण्डारीले मध्यरातमा संसद विघटन गरेकी थिइन् ।

प्रतिक्रिया