झडपबाट दुई जनाको मुत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ माईती नेपाल चोक डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका-४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट शनिबार राति मृत्यु भएको छ ।
डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पाबीच वादविवाद हुँदा श्रीमानले कुटपिट गर्दा डोमा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले अभियुक्त क्षेत्रलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच मादक पदार्थ सेवन गरी भएको झगडामा कुटपिट हुँदा कीर्तिपुर नगरपालिका-६ छाप बस्ने ४० वर्षीय मान बहादुर घिसिङको शनिबार राति मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी घिसिङ र सोही ठाउँ बस्ने मकवानपुर बकाया गाउँपालिका-१ घर भएका २५ वर्षीय बगत बहादुर बल बगतबीच झगडा हुँदा बगतले काठको चिरपटले प्रहार गर्दा घिसिङ र उनकै श्रीमती २७ वर्षीया माया घिसिङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कीर्तिपुर मोडेल अस्पतालतर्फ लैजाने क्रममा घिसिङको बाटोमै मृत्यु भएको हो ।
घाइते मायाको सोही अस्पतालमा उपचार भइरहेको छ । झगडामा संलग्न बगत समेत पाँच जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया