आइतबार, वैशाख १४, २०८२

महामारीमा मानसिक स्वास्थ्यको अवस्था

बिनु गोर्खाली (अमात्य) २०७८ जेठ ९ गते १८:४४

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले मानव जीवनमा व्यापक रुपले प्रभाव पारिरहेको छ । सन् २०१९ को डिसेम्बर महिनामा छिमेकी राष्ट्र चीनमा पहिलो पटक देखा परेको कोरोना भाइरस केही समयपश्चात् नै विश्वव्यापी रुपमा फैलिएर महाव्याधिको रुप लिई विश्वलाई नै आक्रान्त पार्न सफल भयो । यो समस्याबाट विश्वका हरेक कुनामा रहेका समुदाय प्रभावित भएका छन् भने यसबाट महिला, पुरुष, धनी, गरिब, गोरा, काला सबै नै पीडित भएका छन् । यसले सम्पूर्ण मानव जातिलाई नै शारीरिक, आर्थिक, मानसिक तथा सामाजिक असर पारेको छ । कोरोनाकालमा हज्जारौँको सङ्ख्यामा डिप्रेसन बढेको छ भने आत्महत्यामा पनि वृद्धि भएको छ । नेपालमा पनि यो सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको समाचार आइरहेका छन् । यस्तो विषम परिस्थितिमा मानसिक पीडाको सही व्यवस्थापन गर्न सकिएन भने समाजमा थप विपद् बढ्ने निश्चित छ । महामारीकै बीच पनि कसरी मानसिक रुपमा स्वस्थ रहने भन्ने सन्देश दिने उद्देश्यले यस लेख तयार पारिएको छ ।

कुनै पनि व्यक्ति पूर्ण स्वस्थ हुनका लागि मानसिक सुस्वास्थ्य नित्तान्त आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई परिभाषित गर्दा ‘कुनै पनि व्यक्ति पूर्ण रुपले स्वस्थ हुन शारीरिक, मानसिक, एवं सामाजिक रुपले स्वस्थ हुनु आवश्यक पर्ने’ बताएको छ । तसर्थ स्वस्थ हुनका लागि मानसिक रुपले तन्दुरुस्त हुन अति नै आवश्यक छ । मानसिक स्वास्थ्यलाई विभिन्न कुराहरूले प्रभाव पार्दछ, जस्तै, मानिसको उमेर, लिङ्ग, आर्थिक अवस्था, चेतना तह, रोगको अवस्था, वंशाणु, वातावरण÷मौसम, खानपान, सामाजिक–सांस्कृतिक पृष्ठभूमि, आदि । कोभिड–१९ को बढ्दो सङ्क्रमणले कसरी यी कुराहरुमा नकारात्मक प्रभाव पारेको छ, जसको कारण मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको छ र यसले चिन्ता, निराशाभाव, आत्महत्या जस्ता कुराहरुमा वृद्धि गराएको छ भन्नेबारे चर्चा हुनु आवश्यक छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा महामारी नियन्त्रणका लागि मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नुपर्ने भयो । मानिसहरुबीच भौतिक दुरी कायम गर्नुपर्ने भयो । यसको लागि सरकारले निषेधाज्ञा लागु ग¥यो । निषेधाज्ञाले सङ्क्रमण नियन्त्रण गर्न केही हदसम्म योगदान त ग¥यो, तर यसले मानिस–मानिसबीचको सम्बन्ध र सञ्चारको स्वरुपमा परिवर्तन ल्याइदियो । खुल्लारुपले चलायमान रहेका मानिसहरू घरभित्रै थुनिए । उनीहरुको दैनिक क्रियाकलाप फेरियो । दैनिक रुपमा गरिने सामान्य गतिविधिहरू जस्तै, घुमघाम, कार्यालय जाने, व्यापार–व्यवसाय गर्ने, विद्यालय एवं विश्वविद्यालयको पठनपाठन, किनमेल, मनोरञ्जन, भेटघाट आदि सबै रोकिए । यस प्रकार सामाजिक क्रियाकलाप, भेटघाट, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा भएको बन्देजले मानिसहरुबीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने भावनात्मक आदान–प्रदान हुन सकेन । मनका दुःख–सुख जोसुकैलाई व्यक्त गर्न सकिँदैन र मानिसहरु एकै ठाउँमा रहनुपर्ने अवस्थाका कारण मनका दुःख–सुख व्यक्त हुन पाएन । यसले अप्रत्यक्ष रुपमा मानसिक स्वास्थ्यमा असर पारेको देखिन्छ ।

लामो अवधिसम्म लम्बिएको निषेधाज्ञाका कारण व्यापार, व्यवसाय एवं पठनपाठन ठप्प भयो । व्यापार व्यवसाय, उद्योगधन्दाहरू सुचारु नहुँदा कत्तिले घाटा व्यहोर्नु प¥यो भने धेरैले रोजगारी गुमाए । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नेहरुको गाँसै खोसियो । खानपानको अभाव, बढ्दो वेरोजगारी जस्ता अवस्था सृजना भएसँगै मानिसकहरुमा चिन्ता बढ्न थाल्यो । पठनपाठन रोकिँदा चिन्ता पर्नुका साथै घरभित्रै रहन बाध्य बालबालिका तथा युवामा न्यास्रोपना बढ्यो । आर्थिक अभाव र एक्लोपना आदि समस्याले मानसिक स्वास्थ्यमा झनै बढी नकारात्मक असर परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यस लेख तयार पार्दासम्म विश्वमा यस रोगबाट १६ करोड १५ लाख १३ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने करिब ३३ लाख ५२ हजार १०९ जनाको मृत्यु भईसकेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ५ लाख नाघेको छ भने ६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ को रोकथामका लागि खोप लगाउने कार्य सुरु त भयो तर खोपमा सबैको पहुँच पुग्न सकेको छैन । नेपालमा अहिलेसम्म लगभग २० लाखले मात्र खोप पाएका छन् । बाँकिको लागि खोप कहिले आउने हो, कहिले लगाउन पाउने हो भन्ने कुरा सुनिश्चत हुन नसक्दा यसले आमजनमानसमा त्रास पैदा भएको छ ।

सङ्क्रमणको यस्तो जटिल अवस्थामा पनि कोराना सङ्क्रमितले अस्पतालमा बेड नपाउनु, बेड पाएकाहरुका लागि अक्सिजनको अभाव हुनु, भेन्टिलेटर नपाएर ज्यानै गुमाउन बाध्य हुनु जस्ता समाचारहरुले जनसमुदायमा त्रास बढाएको छ । आफ्नै आँखा अगाडि आफन्तले छटपटाउँदै प्राण त्यागेको हेर्न बाध्य मानिसको मानसिक अवस्था कस्तो होला ! मानिसहरू आफन्त तथा साथीभाइको मृत्युको खबरले भयभित हुन थालेका छन् । उनीहरुमा निराशापन बढ्दो अवस्थामा छ । नियमित खानपानमा अरुचि, एक्लोपना, मनोरञ्जनमा अरुचि, कामकाजमा ध्यान केन्द्रित गर्न नसक्नु, दुस्वप्न, अनिद्रा, रिसाउने जस्ता मानसिक समस्याहरू देखापरेका छन् । कसैले त यस्तो विषम परिस्थितिसँग जुझ्न खराब तरिका अपनाउन थालेका छन्, जस्तै धुम्रपान, मध्यपान, लागु औषधीको प्रयोग गर्ने जस्ता कुराहरु बढ्दै गएका छन् । यसले उनीहरुको स्वास्थ्य त बिग्रन्छ नै, उनीहरुमा थप मानसिक असर पर्न जान्छ ।

निषेधाज्ञाको अवधिमा आत्महत्याको आँकडा पहिलेभन्दा बढेको देखिन्छ । स्न २०२० मार्चपछि १३५० जनाले आत्महत्या गरेको देखिएको छ । त्यसमध्ये ३१९ बालबालिका छन् भने ८७६ महिला रहेका छन् । साथै, नेपाल प्रहरीका अनुसार किशोरीहरूको आत्महत्याको आँकडा विगतका वर्षको तुलनामा निषेधाज्ञाको अवधिमा ४० प्रतिशतले वृद्धि भएको छ । युनिसेफले गरेको एक सर्वेक्षणअनुसार ४९ प्रतिशत परिवारमा विशेषतः निषेधाज्ञाका कारण बालबच्चाको आवश्यकता परिपुर्ति गर्न नसक्नाका कारण तनाव बढेको देखिएको छ । त्यसैगरी, निषेधाज्ञाको समयमा घरेलु हिंसा पनि बढेको छ । मानव अधिकारकर्मीहरूका अनुसार निषेधाज्ञाको अवधिमा नेपालको ७७ मध्ये १८ जिल्लामा मात्र १७६ महिला हिंसाका घटना घटेको पाईयो । साथै बाल यौनदुराचारको घटनाहरूमा वृद्धि भएको छ । यसरी, सामान्यतया सबै मानिसमा मानसिक तनाव, डर, त्रास, निराशापन जस्ता समस्या देखापरेको छ । यस समयमा स्वास्थ्यकर्मीहरूसमेत हतास र चिन्तित देखिएका छन् ।

जनसमुदायलाई समस्या पर्दा, उनीहरु सङ्कटमा पर्दा अभिभावकको भूमिका खेल्नुपर्ने सरकार र राजनैतिक दलहरु सत्ताको खिँचातानीमा नै अलमलिएको वर्तमान अवस्थामा नागरिकहरुले ‘अभिभावक विहिन’ भएको महसुस गर्न थालेका छन् । महामारीको अवस्थामा पनि गम्भीर हुन नसकेको सरकार र दलहरुका यस्तो कुकृत्यले आम नागरिकमा वितिष्णा पैदा हुनुका साथै उनीहरुमा ‘कहिले मरिने हो’ भन्ने त्रास बढ्दै गएको छ । यसले उनीहरुको मानसिक स्वास्थ्यमा थप प्रतिकुल असर परेको छ ।

मानसिक समस्यालाई औषधिको सेवनबाट मात्र समाधान गर्न सकिँदैन । महामारीको यस्तो विषम परिस्थितिले सिर्जना गरेको मानसिक समस्या नियन्त्रण गर्न औषधिमात्रले सम्भव नै हुँदैन । यो अवस्थासँग जुझ्न पारिवारिक एकता र आपसी सहयोग अत्यन्तै जरुरी हुन्छ । मानसिक रुपमा पीडित सदस्यलाई परिवारका अन्य सदस्यले भरपुर साथ दिनुपर्छ । यस्तोबेलामा मानवीय धर्म निभाउनु सबैको दायित्व हो । हरेक व्यक्तिले आफ्नो छरछिमेक तथा आफन्तलाई सक्दो मनोसामाजिक सहयोग गर्नु आवश्यक छ । आफ्नो र अरुको मनोबल बढाउने र शारीरिक एवं मानसिक स्वास्थ्यको ध्यान दिनुपर्छ ।

मानसिक स्वास्थ्यको लागि स्वस्थ जीवनशैली अपरीहार्य छ । दैनिक योग, नियमित व्यायाम, स्वस्थ एवं सन्तुलित भोजन र पर्याप्त निद्राको आवश्यक पर्दछ । मानसिक स्वास्थ्यको लागि परिवारका सदस्यहरूबीच मनोरञ्जनका कार्यहरू जस्तै, कुराकानी, नाचगान, खेलकुद गर्न सकिन्छ । गीत सुन्ने, पुस्तक पढ्ने, बारीमा काम गर्ने इत्यादि कार्य गर्न सकिन्छ । त्यसैगरी, सकारात्मक सोँच जगाउने लेख, पुस्तक पढ्ने, भिडियो हेर्ने, आदि गर्नाले हामीलाई निरास हुनबाट जोगाउँछ । यस्तो अवस्थामा शारीरिक तथा मानसिक रुपमा सबैजना सक्रिय हुनुपर्छ । सामाजिक सञ्जालको सन्तुलित तथा समुचित प्रयोगले पनि मनलाई खुसी पार्न सकिन्छ । मिडियाबाट मृत्यु र सङ्क्रमणका समाचार मात्र दिने कार्यलाई निरुत्साहित गर्नुपर्छ । त्रासको यस्तो अवस्थासँग जुझ्न सबैमा दृढ इच्छाशक्ति हुुनु अपरिहार्य छ । बालबालिकाको मानसिक अवस्थालाई स्वस्थ राख्न अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ । यदि कसैलाई अत्यधिक निराशा, डर, चिन्ता, अनिद्रा, एक्लोपना आदि जस्ता लक्षणहरू देखिएमा तत्कालै मनोसामाजिक परामर्शदाताको सहयोग लिनु पर्दछ ।

नेपालमा हालको तथ्याङ्क हेर्दा कुल सङ्क्रमितको १.२ प्रतिशतको मात्र ज्यान गएको छ । त्यसमध्ये पनि धेरैजसो अन्य कुनै दीर्घरोगबाट ग्रसितहरु पर्दछन् । त्यस्तै, कुल सङ्क्रमितमध्ये झण्डै ७६ प्रतिशत पूर्ण रुपमा निको भइसकेका छन् भने अन्य पनि निको हुने क्रममा भन् । कुल सङ्क्रमितमध्ये ८५ प्रतिशत त बिना उपचार (घरमै बसेर) ठिक भएका छन् भने १५ प्रतिशतलाई उपचारको आवश्यकता परेको थियो । कोरोनाको समस्यासँग जुझ्न जनसमुदाय जुरमुराएको अवस्था छ । सामाजिक संघसंस्थाहरु सक्रिय भएका छन् । नेपालबाहिर रहेका नेपाली जनसमुदायले आर्थिक, भौतिक र मानसिक रुपमा सहयोग गर्ने क्रम बढ्दो छ । स्वास्थ्यकर्मीहरू उच्च मनोबलका साथ सेवारत छन् । स्थिति विस्तारै सजिलो हुँदै जाने क्रममा छ । जनताको शक्तिका अगाडि कुनै पनि समस्या टिक्न सक्दैन । यस्तो समयमा आफ्नो अवस्थाअनुसार मनोरञ्जन गर्ने, योग्यताअनुसार एकआपसमा सहयोग गर्ने गरौँ । यो महामारीलाई हामी सबै मिलेर परास्त गरौँ ।

प्रतिक्रिया