दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।
एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीको पहलमा यो सम्भव भएको हो । त्यसका लागि यज्ञराज र विमलले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गराएर सहयोगको बातावरण बनाएका हुन् ।
नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउँदै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरिएको थियो ।
उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएको एनआरएनए दक्षिण कोरियाका महासचिव डा सुवेदीले बताएका छन् ।
उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद यिनले जानकारी दिएका थिए ।
गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य साम्रगीले नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया