एकपछि अर्को समुद्री आँधीका कारण आरोहण प्रभावित

काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथामा भइरहेको ठूलो हिमपातका कारण झन्डै १०० जनाभन्दा धेरै पर्वतारोही र आरोहण दलका सहयोगीहरू लगभग ६,४०० मिटर उचाइमा बस्न बाध्य भएको अधिकारीहरूले बताएका बीबीसीले जनाउकाे छ ।
सगरमाथा आधार शिविरमा रहेका एक सरकारी अधिकारीले मौसम बिग्रिने सूचनासँगै चौथो शिविरसम्म पुगेका पर्वतारोहीहरू दोस्रो शिविरमा फर्किएको जानकारी दिए ।
अहिले कोही पनि पर्वतारोही दोस्रो शिविरभन्दा माथि नरहेको भन्दै उनले आरोहण सम्पन्न गरी आधार शिविर फर्किने क्रममा घाइते भएका केहीले हेलिकप्टरमार्फत् उद्धारको प्रतीक्षा गरिरहेको जानकारी दिए ।
यस पटक वसन्त यामका लागि सगरमाथा आरोहणका लागि ४०० भन्दा बढी पर्वतारोहीले अनुमति लिएका थिए। उनीहरूसँग ८०० जनाभन्दा बढी शेर्पा र अन्य सहयोगीहरू आधार शिविरतर्फ गएका थिए।
कोरोनाभाइरसको महामारीले निम्त्याएको जोखिमका माझ यसपालि विभिन्न हिमालहरू आरोहण गर्न झन्डै ७८ मुलुकका पर्वतारोहीहरू नेपाल आएका छन् ।
बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा विकसित भई शक्तिशाली समुद्री आँधीका रूपमा आएको ‘यास्’ चक्रवातको असर मङ्गलवारदेखि नेपालमा पनि देखा परेको थियो ।
जल तथा मौसम विज्ञान विभागले यो साताको सुरुमै मौसमसम्बन्धी पूर्वानुमानसम्बन्धी सूचना प्रकाशित गर्दै उच्च हिमाली क्षेत्रमा हावाहुरी समेत आउन सक्ने बताएको थियो ।
उसले केही दिनसम्म पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह गरेको थियो । मौसम बिग्रिन सक्ने चेतावनीपछि माथि उक्लिरहेका पर्वतारोहीहरू तल दोस्रो शिविरमा फर्किएको बताइन्छ।
अहिले सगरमाथाको आधार शिविरमा रहेका सहसम्पर्क अधिकृत खिमलाल गौतमले बीबीसीसँग भने, ‘हिजोबाट नै भारी हिमपात भइरहेको छ । बाक्लो हिमपात भएकाले सबै आरोहीहरू दोस्रो शिविरमा फर्किएर अरू सहयोगी स्टाफसँगै बसिरहेका छन् । आरोही र सहयोगीहरू गरेर त्यहाँ १०० जनाभन्दा बढी छन्।’
उनका अनुसार आरोहण सम्पन्न गरेका कतिपय टोलीहरूले मौसम खराब भएकाले दोस्रो शिविरमा रहेका आफ्ना सरसामान तल झार्न सकेका छैनन् । उनले आधार शिविरबाट बाहिर निस्किने अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया