कंगोमा ज्वालामुखी विस्फोटमा परि ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, सयौँ जना बेपत्ता

नेपालखोज २०७८ जेठ १३ गते १७:०८

कंगो । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायताकर्मीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् ।

उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै हराइरहेको बताएका छन् । शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवीतै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन् ।

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन् । साथै यसबाट यहाँका १७० जना बालबालिका पनि हराएका छन् । उनीहरुको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन् । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् ।

प्रतिक्रिया