बुधबार, असार ११, २०८२

चीनमा उच्च शिक्षा अध्ययन गरेका ९० प्रतिशतलाई रोजगारी

नेपालखोज २०७८ जेठ १६ गते १९:२६

चीन । चीनमा व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएका एक प्रतिवेदनले देखाएको छ । आज सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको छ महिनाभित्रै उनीहरुले रोजगारी पाइसकेको उल्लेख छ ।

नेसनल इन्स्टिच्यूट अफ एजुकेसन साइन्सले तयार पारेको प्रतिवेदनमा व्यावसायिक (भोकेसनल) विषयका स्नातकहरुले रोजगारी पाउने अवस्था पाँच वर्षदेखि स्थिर रहेको उल्लेख छ । स्नातक उपाधि प्राप्त गरेका त्यस्ता व्यक्तिको सन् २०१८ र २०१९ मा आफ्नो तलबमा ७।३७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

स्नातक गरेका ९३ प्रतिशतभन्दा बढीले आफूहरुले प्राप्त गरेको शिक्षाबाट सन्तुष्ट रहेको बताएका प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार, अधिकांश स्नातकले विशेषगरी शिक्षा, निर्माण, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा काम पाएका बताइएको छ ।

स्नातक विद्यार्थीमध्ये अधिकांशले आफू बसोबास गरेकै क्षेत्रमा काम गर्न रुचाएको देखिएको छ । करिब ६६ प्रतिशतले साना तथा मध्यम आकारका उद्यममा काम पाएका छन् । प्रतिवेदनले शैक्षिक प्रणाली, विद्यालय सञ्चालन, शिक्षण र विद्यार्थी विकास समेतका विभिन्न विषयलाई मुख्य रुपमा केन्द्रित गरेको थियो ।

प्रतिक्रिया