सेतो रतुवा मृग सदर चिडियाखानामा

नेपालखोज २०७८ जेठ १८ गते १६:४५


काठमाडाैं । जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएको छ । घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो ।

सदर चिडियाखानाका पशु चिकित्सक डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताए । अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उनले बताए ।

यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए । भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नु परेको डा. थापाले उल्लेख गरे ।

पशु चिकित्सक डा. थापाले आफूहरुले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरहरुलाई उद्धार गरी संरक्षण गर्ने गरेको बताए ।

उद्धार गरिएका जनावरहरु प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र प्राकृतिक वातावरणमा
उनीहरुको जीवन संकटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया