अलबिदा उज्ज्वल थापा !

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वलबहादुर थापाको मंगलबार निधन भएको छ । ४४ वर्षीय थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपालमा राजनीतिक चेतनाको आग्रह गर्दै वैकल्पिक राजनीतिक संस्कृतिको सुरुवात गर्ने नेताका रुपमा चिनिने थापाको नेतृत्वमा विवेकशील समूहले बन्द-हड्ताल तथा हत्या हिंसासहितका गतिविधिको विरोधका लागि वैकल्पिक उपायहरु अपनाएको थियो ।
पहिलो संविधानसभामा स्वतन्त्र रुपमा चुनाव लडेका विवेकशीलका केही सदस्यहरु दोस्रो संविधानसभामा भने राजनीतिक पार्टीका रुपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिएका थिए ।
नयाँ संविधान आएपछिको पहिलो आमचुनावमा साझा पार्टी र विवेकशील नेपाली दल मिलेर बनेको साझा विवेकशीलमार्फत उनले भाग लिएका थिए । थापा र रवीन्द्र मिश्र एकीकृत पार्टीको सह-अध्यक्ष बनेका थिए । तर सो एकता केही समयमै तोडिएको थियो ।
खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न थापाको अहम् भूमिका छ ।
वेब डिजाइनरदेखि उद्यमीसम्मको यात्रा
नेपालको चर्चित बोर्डिङ स्कुल बूढानीलकण्ठबाट कक्षा १२ सम्म अध्ययन गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान अध्ययनका लागि अमेरिका गएका थिए । तर त्यहाँ पुगेपछि उनी खगोल तथा भौतिकशास्त्री होइन वेब डिजाइनर बनेर नेपाल फर्किए थिए ।
वेब डिजाइनर बनेर नेपाल फर्किएका थापाले यहाँ आएपछि उद्यमशीलता र समाजसेवा दुवैमा हात हाले । सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए ।
द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर त्यस विषयमा जनचेतना फैलाउने अभियानबाट उनले सामाजिक कार्यको थालनी गरे । थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ’नेपालका लागि उद्योगी’ नामक अभियानको सुरुवात भएको थियो ।
त्यसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीका लागि एउटा छलफल र सहकार्यको माध्यम बन्न पुगेको थियो । नेपाल फर्किएको केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भएका थिए ।
थापाले नेपालमा अहिंसात्मक रूपमा परिवर्तनका लागि मुद्दाहरू उठाउन र त्यसलाई स्थापित गर्न सकिन्छ भन्ने छाप छाड्न सफल भएका छन् । आलोचकका नजरमा उज्ज्वल थापा सैद्धान्तिकरूपमा स्पष्ट रहुन् या नरहुन् तर उनले नेपालको राजनीतिमा वर्षौंदेखि जमेर रहेका विसङ्गतिमाथि सानै भए पनि प्रहार गरेका थिए । अलबिदा उज्ज्वल थापा ।

प्रतिक्रिया