‘मुलुकमा उत्पन्न समस्याहरूको समाधान मध्यावधि निर्वाचनले गर्न सक्दैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले मुलुकमा पछिल्लो समय उत्पन्न समस्याहरूको समाधान संसदीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनले गर्न नसक्ने बताएको छ ।
बुधबार नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा राष्ट्रियता तथा जनतन्त्रका समस्या पहिले भन्दा झनै गम्भीर बन्दै गएको, देश निरङ्कुशतावाद, फासीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको र कोरोना महामारीसमेतका कारण जनजीविकाका समस्या निकै विकराल बनेको समयमा मध्यावधि निर्वाचनले समस्याको समाधान हुनै नसक्ने जनाएको छ । पार्टीले यस्तो स्थितिमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्य सत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य रूपमा आवश्यक भएको धारणा राखेको छ ।
साथै पार्टीले विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठितरूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन, क्रान्तिकारी विकल्पबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न र संयुक्तरूपमा सङ्घर्षलाई अगाडि बढाउन पनि अपिल गरेको छ ।
त्यस्तै, उक्त पार्टीले सरकारले अध्यादेशमार्फत् सार्वजनिक गरेको बजेटले नेपाल निकै ठुलो ऋणभारमा डुब्न गएको जनाएको छ । बजेटले उच्च वर्गका लागि विभिन्न करहरूमा विशेष छुटको व्यवस्था गरेको र मजदुर वर्गलाई आवश्यक वेतन, सुविधा, राहत प्रदान गर्ने कामबाट पुरै पछि हटेको आरोप लगाएको छ ।


प्रतिक्रिया