बुधबार, असार १८, २०८२

सरकारले गरेको निर्णयलाई नमानी मिडियाबाजीमा जानु राम्रो होइन : डा. गौतम

नेपालखोज २०७८ जेठ २१ गते २०:२१

काठमाडौं । नेपाल सरकारले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान र उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ । अध्यादेशमा भए अनुसार अस्पताल सञ्चालनको लागि एक प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था छ । साथै सरकारले प्रोफेसर डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ ।

युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । डा. गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर वीर अस्पताल पठाएपछि विवाद उत्पन्न भएको छ । डा. गौतम प्रमुख प्रशासकीय अधिकृत भएर वीर अस्पताल गएपछि निमित्त निर्देशकको रुपमा रहेकी डा. शान्ता सापकोटा बिदामा बसेकी छन् ।

अस्पतालको प्रमुखको हो भन्ने विषयमा दुइथरी मत देखिए पछि विवाद बढेको छ । यसै सन्दर्भमा कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई निमित्त निर्देशक र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादबारे सोध्दा वीर अस्पताल युनिफाइड अस्पतालमा रुपान्तरण भइसकेकाले प्रमुख आफै रहेको बताए ।

सरकारले अर्को नियुक्त नगरुञ्जेल अथवा अध्यादेश क्रियाशिल रहुञ्जेल वीर अस्पतालको प्रमुख डा. जागेश्वर गौतम नै रहने बताए । सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो नभएको डा. गौतमले बताए । निमित्त निर्देशक रहेकी डा. सापकोटाको पद नै अहिले नरहेको भन्दै विवाद नझिक्न आग्रह गरे ।

प्रतिक्रिया