शुक्रबार, वैशाख १४, २०८१

गीतकार दिनेश अधिकारीकाे एल्बमबाट -५

दिनेश अधिकारी २०७८ जेठ २२ गते ११:००

डा. बानिरा गिरी अर्थात् बानिरा दिदी !

नेपाली कविता, उपन्यास र निबन्धको क्षेत्रमा गौरवपूर्ण योगदान दिनुहुने मेरो अत्यन्तै प्रिय कवि बानिरा गिरी गत जेठ ९ गते दिवंगत हुनुभयो । उहाँको जन्म वि.सं. २००२ चैत २९ गते भारतको दार्जिलिङ जिल्लाक‍ो खर्स्याङमा भएको थियो ।

बानिरा गिरीका एउटा-एउटा जिउँदो जंगबहादुर, जीवन थायमरु, मेरो अविष्कार र काठमाडौं काठमाडौं शीर्षकका चारवटा कविता-काव्यका पुस्तक प्रकाशित छन् । कारागार, निर्बन्ध र शब्दातीत शान्तनु शीर्षकका तीनवटा उपन्यास, पर्वतको अर्को नाम पार्वती र जंगल जंगल शीर्षकका दुईवटा निबन्ध सङ्ग्रह तथा रोकिनेले आकार दिन सक्तैन शीर्षकको यात्रा- संस्मरणको एउटा पुस्तक पनि प्रकाशित छ । The Prison, My Discovery, From The Lake, Love र From The Other End शीर्षकमा उनका कृतिहरु पनि अनुवाद भई पुस्तकाकारमा प्रकाशनमा आएका छन् भने फुटकर रुपमा अन्य धेरै भाषामा उनका रचनाहरुको अनुवाद छापिएका छन्।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०२२ सालमा पहिलोपल्ट आयोजना गरेको ‘नैतिकता’ शीर्षकको कविता महोत्सवमा द्वितीय स्थान हासिल गरी पुरस्कार थाप्न पहिलोपटक काठमाडौं आएकी बानिराको जीवनलाई त्यही कविता महोत्सवले नयाँ मोड र नयाँ सन्दर्भ दिय‍ो । मलाई जानकारी भएसम्म, राजा महेन्द्रबाट कविता महोत्सवको पुरस्कार ग्रहण गर्दै गर्दा उनले राजालाई नेपाली विषयमा स्नातकोत्तर गर्ने इच्छा रहेको तर भारतमा त्यो सम्भव नभएको परिस्थिति बताइन् । राजाले उनका कुरा सुने । पुरस्कार थापेर खर्स्याङ फर्केको केही समयपछि नै नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको जानकारी उनलाई गयो । उनी काठमाडौं आइन पढ्न थालिन् ।

पढाइ चल्दै थियो। तत्कालीन सोभियत संघबाट इन्जिनियरिङको अध्ययन पूरा गरेर नेपाल फर्केका जनकपुर निवासी शंकर गिरीसँग २०२३ सालमा भएको भेट वैवाहिक सम्बन्धमा परिणत भएसँगै उनको देश अब नेपाल भयो । प्राध्यपन गर्दागर्दै अध्ययनलाई तिखार्ने क्रममा उनले नेपाली भाषा-साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिलाको परिचय पनि बनाइन्।

साझा पुरस्कार, रत्नश्री सुवर्ण पदक, महाकवि देवकोटा पुरस्कार,राष्ट्रिय कलाश्री पुरस्कार आदिद्वारा सम्मानित गिरीलाई २०७१ सालमा त्रिमूर्ति निकेतनको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा रथारोहण गराउँदै ‘नेपाली साहित्यको विश्व नारीरत्न’ को रुपमा सम्मान समर्पण गरिएको थियो।

निश्चल, निडर र स्वाभिमानी स्वभावकी डा. बानिरा गिरीलाई आफ्नो लेखनमा अत्यन्तै विश्वास थियो र प्रतिभाको लिंग हुँदैन भन्ने उनको स्पष्ट दृष्टिकोण थियो । सुनेको त के पनि छु भने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मनोनयनका लागि प्रस्ताव आउँदा कुलपतिबाहेकको अरु पदमा नियुक्ति लिन उनले अस्वीकार गरेकी थिइन् । केही अन्तर्राष्ट्रिय साहित्यक मञ्चहरुमा नेपालको प्रतिनिधित्व गरेकी गिरीका सन्दर्भमा निर्विवाद रुपमा भन्न सकिने सत्यचाहिँ के हो भने डा. बानिरा नेपाली साहित्यका सन्दर्भमा अब्बल स्रष्टा हुन्। उनी आफ्नो लेखनमा सधैं इमानदार रहिन् ।

करिब पाँच वर्ष अल्जाइमरसँग जुधेकी डा. बानिराका एकाध गीतहरु रेकर्ड भएका पनि छन् । कुनै समय उनले नारायण संगीत कोषको नेतृत्व पनि सम्हालेकी थिइन् ।

बानिरा गिरीलाई मैले भने पहिलोपटक २०३७ साल वैशाख १ गते भेटेको हुँ । सन्दर्भ थियो- कतै दर्ता नभएको, हामी केही साथीहरुले संस्थाको रुपमा नाम दिएको ‘युवा साहित्यिक समाज’ (काठमाडौं) द्वारा प्रकाशित मेरो पहिलो कवितासङ्ग्रह ‘अन्तरका छिटाहरु’ को विमोचन कार्यक्रम । विमोचन कार्यक्रममा क-कसलाई निम्त्याउने भन्ने छलफल हुँदा मैले भनेको थिएँ – अरु ज-जसलाई बोलाए पनि बानिरा गिरीलाई चाहिँ निम्त्याउन नबिर्सनू । साथीहरुले त्यसै गरे । कवि बानिरा गिरी कार्यक्रममा आउनु मात्र भएन, मेरा कविताका बारेमा केही विचार राख्दै शुभकामना पनि व्यक्त गर्नुभयो । हो, त्यही दिनदेखि मैले उहाँलाई ‘दिदी’ भन्न थालेको हुँ र दिदीको स्नेह मलाई सधैं प्राप्त भइरह्यो ।

हामीबीच एक किसिमको स्नेहपूर्ण सम्बन्ध रहेभए पनि मीनभवन, काठमाडौंस्थित बानिरा दिदीको घरमा भने आजसम्म म जम्माजम्मी चारपटक मात्र पुगेको रहेछु । चौथो वा भनुँ अन्तिमचाहिँ कवि, गीतकार ज्ञानेन्द्र गदालको सक्रियता गैरआवासीय नेपाली संघ (नेपाली भाषा साहित्य प्रवर्द्धन समिति, अमेरिका ) को तर्फबाट दिदीलाई प्रदान गरिएको सम्मान समर्पण गर्न कवि तुलसी दिवसको अगुवाइमा २४ वैशाख, २०७६ का दिन हामी ८/१० जना उहाँको निवासमा गएका थियौं । दिदी आफैँलाई चाहिँ सम्मान ग्रहण गरेको बोध भयो पनि कि भएन यसै भन्न गाह्रो छ । कारण, यतिञ्जेलसम्म दिदीलाई अल्जाइमर (बिर्सने रोग) ले पूरै गाँजिसकेको थियो ।

यसभन्दा अगाडि शंकर गिरीज्यूसँग समय लिएरै ३० पुस, २०७५ का दिन बिरामी दिदीलाई भेट्न म उहाँको घर पुगेको थिएँ । त्यो भेटमा मैले स्नेहवश दिदीलाई सुम्सुम्याउँदै बोलाउँदा मलाई हेरेर उहाँ मुस्कुराउनु भएथ्यो । तर बोल्नुभएन । पछि शंकर गिरी भन्दै हुनुहुन्थ्यो- बोली नआए पनि त्यो मुस्कान तपाईंसँगको हार्दिकताको द्योतक हो । सामान्यत: उनी अचेल कसैको मतलब गर्दिनन् । मसँग पनि ‘एस’ र ‘नो’ मा मात्रै कुरा हुन्छ । दिदीसँगको यो भेटले उत्पन्न गराएको खिन्नता वा भनुँ छट्पटीका कारण मैले उहाँको बारेमा एउटा छोटो लेखोट तयार गरि अन्नपूर्ण (दैनिक) को शनिबारीय परिशिष्ट ‘फुर्सद’ को ४ फागुन २०७५ को अंकमा छपाएको पनि थिएँ ।

बानिरा दिदी कार्यक्रमहरुमा कमै मात्र सहभागी हुने कारण बाहिर पनि कमै भेट हुन्थ्यो । अहिले सम्झिँदा साझा प्रकाशनले २०६४ साल मंसिरमा काठमाडौंको जमलमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीको सिलसिलामा मंसिर ९ गते दिदी र मलाई एकैसाथ हस्ताक्षर गर्ने प्रयोजनका लागि स्रष्टाको हैसियतमा प्रदर्शनीमा निम्त्याइएको थियो । त्यो दिन साहित्य मात्र होइन राजनीति र जीवनका विविध पक्षमा धीत मर्ने गरी कुरा गरेका थियौं । राम्रै संख्यामा पाठकहरुले खरिद गर्नु भएका किताबमा दस्तखत गरेका थियौं ।

दिदीसँग एउटै मञ्चमा अन्य कविहरुका साथ कवितावाचन गरेको सम्झना छैन । तर केचाहिँ सम्झना छ भने १४ असोज २०६८ का दिन कवि एवं टेलिभिजनकर्मी रुपेश श्रेष्ठले दिदी र मलाई कान्तिपुर टेलिभिजनमा कवितावाचन र कुराकानीका लागि निम्त्याउनुभएको थियो । त्यो दिन, दिदी र मैले एउटै सोफामा बसेर दुई-दुईवटा कविता वाचन गरेका थियौं । मलाई सम्झना छ, प्रत्यक्ष प्रसारण गरिएको त्यो कार्यक्रममा उहाँले ‘सपनै सपनाको सिम्फोनी : काठमाडौं’ र ‘सोमदत्त जवाफ देऊ’ शीर्षकका कवितावाचन गर्नुभएको थियो । त्यसको रेकर्ड अहिले पनि मसँग सुरक्षित छजस्तो लाग्छ ।

तस्बिरका पनि केही सम्झना छन्। यहाँ राखिएमध्येको बानिरा दिदीसँगको पहिलो तस्बिर माथि उल्लेख भएअनुसार ३० पुस २०७५ का दिन उहाँलाई दोछायाँ- सम्झना हुँदाको अवस्थामा खिचिएको हो भने दोस्रो तस्बिर ९ मंसिर २०६८ का दिन जमल, काठमाडौंमा भएको पुस्तक प्रदर्शनीमा खिचिएको हो । तेस्रो तस्बिरचाहिँ २४ वैशाख २०७६ का दिन गैरआवासीय नेपाली संघका तर्फबाट बानिरा दिदीलाई उहाँकै निवासमा सम्मान समर्पण गर्दाको अवसरको हो, जसमा बायाँबाट (साहित्यकारहरु) क्रमशः भागिरथी श्रेष्ठ, गीताकेशरी, म दिनेश अधिकारी, डा. बानिरा गिरी, तुलसी दिवस र जलेश्वरी श्रेष्ठलाई देख्न सकिन्छ।

प्रतिक्रिया