शुक्रबार, वैशाख १४, २०८१

हरेक एकदिवसीय खेल्ने खेलाडीले १० हजार रुपैयाँ पाउने

नेपालखोज २०७८ जेठ २६ गते १९:३३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल स्वरुप १० हजार रुपैयाँ पाउने भएका छन् ।

यस्तै हरेक टी-ट्‌वान्टी क्रिकेट खेले बापत ५ हजार रुपैयाँ पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले पाउने भत्ताको तय भएको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले नयाँ कार्यविधि पारित भएपछि पुरुष खेलाडीले प्रतिएकदिवसीय खेल बापत १० हजार र टी-ट्‌वान्टीबापत ५ हजार रुपैयाँ पाउने जानकारी दिए । क्यानले गरेको यो कार्य नेपाली क्रिकेट इतिहासकै पहिलो भएको समेत उनले बताए ।

क्यानले सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । उनका अनुसार महिला टोलीका खेलाडीले भने एकदिवसीयमा पाँच हजार र टी-ट्‌वान्टीमा तीन हजार रुपैयाँ पाउनेछन् ।

यस्तै प्रशासनिक खर्चवापत प्रदेशलाई तीन लाख तथा जिल्ला संघलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । यसैगरी क्यानको बन्द प्रशिक्षणमा परेका खेलाडीले समेत प्रतिदिन पाँच सय रुपैयाँका दरले भत्ता पाउने सिंहले जानकारी दिए ।

प्रतिक्रिया