शुक्रबार, वैशाख ७, २०८१

आजको सूर्य ग्रहण कहाँबाट देखिन्छ, हेर्ने कसरी ?

नेपालखोज २०७८ जेठ २७ गते ९:०१

काठमाडौं । हिन्दु धर्ममा सूर्य ग्रहणको आफ्नै महत्व छ भने ग्रन्थहरूमा यसका विविध आयामहरूको चर्चा गरिएको पाइन्छ ।

आजको सूर्य ग्रहणमा सूर्य रिंग अफ फायरमा परिवर्तित हुने अर्थात रातो चम्किलो चुरा (बाला) जस्तो देखिने हुँदा यसको विशेष महत्त्व छ । त्यसैले संसारभरका मानिसका लागि यो चासोको बिषय बन्न पुगेको छ । यसअघि नदेखेकालाई यो नितान्त नौलो हुने नै भयो ।

विश्वको धेरै ठाँउबाट दृश्यावलोकन गर्न पाइने भए पनि नेपालबाट उक्त दृश्य हेर्न मुस्किल नै छ । छिमेकी मुलुक भारतमा पनि केवल दुई ठाउँबाट मात्र सूर्यको याे स्वरुप देख्न सकिनेछ । भनिन्छ, भारतको अरुणाञ्चल प्रदेश र लद्दाखबाट मात्र सूर्य ग्रहण हेर्न पाईनेछ ।

नेपाली समय अनुसार दिउँसो १ः५७ बजे प्रारम्भ भइ साँझ ६ः५६ बजे समाप्त हुने सूर्य ग्रहण उत्तर अमेरिका, उत्तरी क्यानाडा, यूरोप तथा एसियाका केही भाग, ग्रीनल्यान्डका साथै रुसको ठुलो भूभागबाट हेर्न सकिनेछ । यसमध्ये क्यानाडा, ग्रीनल्यान्ड तथा रूसमा सूर्यको वलयाकार अर्थात् बाला (चुरा) जस्तो रुप देखा पर्नेछ भने उत्तर अमेरिकाको अधिकांश भाग, यूरोप अनि उत्तर एशियामा आंशिक सूर्य ग्रहण (खण्डग्रास) देखिनेछ ।

सूर्य ग्रहण बर्सेनि एक पटकभन्दा बढि लागे पनि प्रत्येक पटक यो वैज्ञानिक, अनुसन्धानकर्ता तथा खगोलीय घटनाहरूमा चासो राख्ने आम मानिसका साथै युवा-विद्यार्र्थीहरुका लागि विशेष घटनाका रुपमा अगाडि आउँछ । त्यसमा पनि रिंग अफ फायरको दृश्य त अद्भुत नै हुन्छ ।

हिन्दु समाजमा सूर्य ग्रहणको धार्मिक महत्व अधिक छ । धार्मिक दृस्टीले हेर्दा आजको सूर्य ग्रहणबाट सावित्री व्रतको दिन लागिरहेको छ भने आज शनि जयन्ती तथा ज्येष्ठ अमावस्या पनि हो । भनिन्छ, १४८ वर्ष पछि शनि जयन्तीका दिन ग्रहणको योग जुरेको छ । यसअघि २६ मई १८७३ को शनि जयन्तीका दिन सूर्य ग्रहण लागेको थियो । यद्यपि धार्मिक दृष्टिबाट यसलाई शुभ भने मानिँदैन ।

धार्मिक हिसाबले यो सूर्य ग्रहणको सूतक पनि नलाग्ने बताइएको छ । भनिन्छ, जुन ग्रहण आफ्नो भुभागमा देखिन्छ त्यही सूर्य ग्रहणको सूतक मात्र मान्य हुन्छ । नेपालबाट खासै नदेखिने हुँदा यो सूर्य ग्रहणको सूतक बारिरहनु नपर्ने जानकारहरु बताउँछन् । धार्मिक दृष्टिले ग्रहणको दिन नयाँ कामको थालनी तथा माङ्गलिक कार्य गरिदैँन ।

यसैगरी ग्रहण लागेको समयमा खाना पकाउनु तथा खाना खानुलाई पनि शुभ मानिँदैन । ग्रहण लागेका बेला भगवानको मूर्ति छुनु वा पूजा गर्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । ग्रहणकालमा तुलसीको बिरुवा छुने तथा सुत्ने काम गर्नु हुँदैन । यी त भए धार्मिक मान्यताका कुरा ।

विज्ञानले भने यसलाई अन्धविश्वास नै मान्दै आएको छ । विज्ञानले ग्रहणलाई सूर्य, चन्द्रमा तथा पृथ्वी एउटै सिधा रेखामा आए पछि उत्पन्न हुने खगोलीय घटना मान्छ । वैज्ञानिक तथा चिकित्सकहरुले सूर्य ग्रहण नाङ्गो आँखाले सिधा हेर्न नहुने चेतावनी दिदै आएका छन् । अमेरिकी स्पेस एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ स्ट्रीमिंग गर्ने भएको छ जसका माध्यमबाट संसारभरका मानिसले सूर्यग्रहणको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

नासाले पनि आजको सूर्य ग्रहणमा देखिने सूर्यको चुरा जस्तो रुप केवल क्यानाडा, ग्रीनल्यान्ड तथा उत्तरी रुसको केही भागबाट मात्र राम्रोसँग अवलोकन गर्न सकिने जानकारी दिएको छ ।

सन् २०२१ मा दुईवटा सूर्य ग्रहण लाग्नेछ जसमध्ये अर्को सूर्य ग्रहण ४ डिसेम्बर २०२१ मा लाग्नेछ र त्यो सूर्य ग्रहण पनि नेपालमा देख्न पाईने छैन । यो वर्षको मई २६ का दिन चन्द्र ग्रहण लागे पनि नेपालमा अनुभव गर्न पाईएन ।

प्रतिक्रिया