बेलायतद्वारा सहायता बजेट कटौती : नेपालसहित दक्षिण एसियाका जनस्वास्थ्यमा असर

काठमाडौं । बेलायत सरकारले कोभिड-१९ महामारीको संकटसँग सामना गरिरहेका नेपालसहित दक्षिण एसियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ ।
उसले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आईपीपीएफ) मार्फत सहयोग गर्दै आएको करिब एक सय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ । सो महासंघमा नेपाल परिवार नियोजन संघसहित विश्वका १४१ देशका परिवार नियोजन संघ आबद्ध छन् । अब ती देशका सीमन्तकृत किशोर-किशोरी, युवा तथा महिलाहरु यौन तथा प्रजनन् स्वास्थ्य सेवाबाट वञ्चित हुनेछन् ।
बजेट कटौतीको असर विशेष गरी ती देशका मानवीय विपत् प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई प्रदान गरिँदै आइएको यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई प्रत्यक्ष असर पुर्याउने जनाइएको छ । साथै सहायता कटौतीले ती देशमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा सञ्चालित परियोजनासमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
नेपाल परिवार नियोजन संघका व्यवस्थापक डा. नरेशप्रताप केसीले सहायता कटौतीले संघले कार्यान्वयन गरिरहेको पहुँच परियोजना बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । परियोजना बन्द हुँदा किशोरी तथा महिला यौन तथा प्रजनन् स्वास्थ्य सेवाबाट वञ्चित हुने उनले बताए । यसबाट विशेषगरी मानवीय विपत् क्षेत्रका लगभग एक लाख बीस हजार सीमान्तकृत तथा जोखिम समुदायका व्यक्ति ती सेवाबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।
संघले सहायता कटौतीले सेवा प्रभावितका साथै केही दक्ष सेवा प्रदायक तथा कर्मचारीको कटौतीमा पनि पर्ने देखिने जनाएको छ । संघले हरेक चुनौतीका अगाडि नयाँ सम्भावना पनि हुने जनाउँदै आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म यौन तथा प्रजनन् स्वाथ्य सेवा निरन्तर जारी राख्ने व्यवस्थापक डा. केसीले बताए । सामान्य तथा मानवीय विपत्का अवस्थामा पनि स्वास्थ्य र सेवामा समर्पित रहने संघले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडनले यौन तथा प्रजनन् स्वास्थ्यको नीति ‘ग्लोबल ग्याग रुल’ लाई हटाउने हालै निर्णय गरेका थिए । यो निर्णयलगत्तै बेलायतले पनि दक्षिण एसियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेको सहायता बजेट कटौती गर्ने निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया