बिहीबार, जेठ २, २०८२

झलनाथले भने- व्यक्तिगत इगो छाडेर पार्टी एकतामा लागौं

नेपालखोज २०७८ असार २ गते १५:०९

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अनावश्यक टकराव, महत्त्वाकांक्षा र व्यक्तिगत इगो छाडेर पार्टी एकताको पक्षमा लाग्न शीर्ष नेतालाई आह्वान गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नयाँदिल्ली जानुअघि एक वक्तव्य जारी गर्दै उहाँले अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रक्रियाअन्तर्गत फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन् । ‘जनताको चाहना र अपेक्षाविपरीत अनेकौं गलत प्रवृत्तिहरूका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ,’ नेता खनालद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौँ र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’

त्यसअघि आफूलाई भेट्न अस्पतालमै आएका पार्टीका महासचिव ईश्वर पोखरेललाई पार्टीलाई एकताबद्ध बनाउन खनालले आग्रह गरेका थिए । खनाल आज मध्याह्‍न साढे १२ बजे थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले उनको स्वास्थ्यमा कुनै सुधार नआएको जानकारी दिएका थिए ।

प्रतिक्रिया