निषेधाज्ञा खुकुलो भएसँगै पसलहरूमा बढ्यो चहलपहल (भिडियो रिपोर्ट)

काठमाडौं । उपत्यकाको दैनिक उपभोग्य वस्तुहरूको पसलमा चहलपहल बढेको छ ।
काठमाडौं उपत्यकामा असार १ देखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल लागु भएको छ । परिवर्तित नियमअनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरूमा चहलपहल बढेको हो ।
यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिइएको थियो । असार १ देखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो । ९ बजेसम्म पसल खोल्न दिँदा उपभोक्तालाई सामग्रीहरू पुर्याउन गाह्रो भएको भए पनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताउँछन् । सरकारले परिस्थितिको मूल्यांकन गरेर विस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनले बताए ।
ललितपुर महानगरपालिका १९ का वडाध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरे पनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउँछन् । हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि पनि उनले आग्रह गरे ।
काठमाडौं उपत्यकामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिक्रिया