एमाले विवाद मिलाउन सक्रिय नेताहरू भन्छन्- ‘समाधान नजिक’

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।
एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई घण्टा बढी समय छलफल भएको छ ।
बैठक सहभागी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बैठक नियमित र निरन्तर भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बताए । “दुवै पक्षका नेताहरुको आफ्नो कुरा राख्ने र मिलनविन्दु खोज्ने प्रयास जारी छ, जति सक्दो छिटो निष्कर्षमा पुग्ने प्रयासमा हामी छौं” उनले भने । मिलन विन्दु नभेटिएसम्म बैठक जारी राख्ने कुरामा दुवै पक्षका नेताहरुको एक मत रहेको उनले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले आफू दुई पार्टी (एमाले र माओवादी केन्द्र) एकताको मितिभन्दा पूर्वअवस्था २०७५ जेठ २ अघिको अवस्थाबाट छलफल गर्न तयार रहेको बताउनु भएपछि सोही अवस्थाबाट पार्टीको छलफल अघि बढाउने तर माओवादी केन्द्र त्याग गरी एमालेमा आएका नेताहरुको सम्बोधनको कार्यनीतिबारे गृहकार्य भइरहेको नेताहरुको भनाई रहेको समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।
त्यस्तै, नेता माधवकुमार नेपालले जेठ २ को अवस्थाबाट अघि बढ्न अध्यक्ष ओली तयार भएमा अन्य विषयमा छलफल गर्न तयार हुने बताएका थिए । अध्यक्ष ओलीले त्यस अवस्थाबाट छलफल गर्न आफू तयार रहेको तर सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा पेश गरिएको हस्ताक्षर फिर्ताको माग उनको छ । नेता नेपाल पक्षले सो हस्ताक्षर फिर्ता लिने उपयुक्त वातावरणको खोजी गरिरहेको र त्यही विषयको निराकरण गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् ।
प्रतिक्रिया