सोमबार, वैशाख १७, २०८१

‘सेलिब्रिटी’ को राहत चाउचाउ र बिस्कुट

अम्बिका शर्मा २०७८ असार ७ गते १५:५४

प्रकृतिले तपाईं-हामीजस्तो आफ्नो धरातल बिर्संदैन

हे मानव अब त बुझ, अब त सम्झ । मेरोविरुद्धमा नजाऊ भनेर पटकपटक मैले आफ्नो रुप देखाइसकेकी छु । सम्झाइ पनि सकेकी छु । अब पनि टेर्दैनौं भने आफ्नो विनाश भएको आफैं हेर । मैले तिमीहरुको विनाश चाहेको पक्कै होइन । तिमीहरु मेरै सन्तान हौ । आफ्नो सन्तानको पीडा हेर्न म सक्दिनँ । त्यसैले म तिमीहरुको हरेक श्वाससँगै सजग गराइरहेकी छु । अब त होसमा आऊ ।

माथिका शब्दहरु प्रकृतिले हामी मानव जातिलाई भनेका हुन् । बाढी-पहिरो, हावाहुरी, भूकम्प, डढेलो, महामारी, खडेरीलगायत माध्यमबाट हामीलाई प्रकृतिले पटक-पटक झस्क्याइरहेको हुन्छ । समस्या रहुन्जेल केही सतर्क पनि हुन्छौं हामी । त्यसपछि सबै बिर्सिएर जस्ताको जस्तै ।

हाम्रो देशमा विभिन्न प्राकृतिक प्रकोप हरेक वर्ष आइरहन्छन् । त्यसमा परेर धेरै घरबारविहीन बनेका छन् भने कतिले त ज्यानै गुमाएका छन् । देशलाई ठूलो आर्थिक नोक्सानी पनि भएको छ । यस्ता प्राकृतिक विपत्ति आउन सक्छन् भन्ने जान्दाजान्दै पनि हामी अटेर गरिरहन्छौं । प्रकृतिलाई टेर्दैनौं । जब आइलाग्छ नि, अनि सरकारलाई गाली गर्छौं । यसो गरेन, उसो गरेन, त्यो भएन, यो भएन भनेर ।

यो कुनै कुरा हो ? खोलाको बाटो फेरेर बस्ती बसाउने । जथाभावी डोजर लगाएर सडक बनाउने । सहरी विकास भन्दै खोलाको स्वरुप बिगार्नेजस्ता खेल खेलेर हुन्छ ? खोला केही समय अर्को बाटोमा हिँड्यो भनेर हुन्छ ? आफ्नो धरातल बिर्सने, प्रकृति तपाईं-हामीजस्तो होइन । ऊ कुनै पनि बेला आफ्नो बाटोमा फर्कन सक्छ ।

सरकार पनि के कम, ठूलो प्राकृतिक प्रकोप भएको ठाउँमा बिस्कुट र चाउचाउ हेलिकोप्टरमा बोकेर पुग्छ, सान्त्वना दिन । राहत बाँड्नेभन्दा बढी फोटो खिच्नेको भिड लिएर । फर्किएपछि रमाइलो देखाउनुपर्‍यो नि, फुर्ती लाउनुपर्‍यो यसो गरेँ, उसो गरेँ भनेर ।

सरकारको विपत् व्यवस्थापन गर्ने तरिका जहिल्यै पनि उस्तै नै रह्यो । कहिल्यै फेरिएन । सम्भावित जोखिम भएका ठाउँमा पूर्वतयारी सरकारका तर्फबाट भएन । जब घटना घट्छ अनि राहत बाँड्नु नै विपत् व्यवस्थापन हो भन्ने सरकारको बुझाइ भयो ।

आज बिहान एउटा दैनिक पत्रिकामा पढेकी थिएँ, सरकारी कर्मचारीलाई त विपतसम्बन्धी जोखिम के भनेर चिनाउने काम पनि भएको छैन रे, विपत्‌मा केलाई प्राथमिकता दिने भन्ने कुरासमेतको पहिचान भएको छैन रे ! कति हाँस्नु ।

सरकारले त गरेन गरेन, नागरिकहरुले पनि सम्भावित घटनाबाट बच्ने प्रयास गरेको पाइएन, देखिएन र सुनिएन पनि । सबै आफ्नै लयमा मस्त रहे । जस्तै, खोलाको किनारमा घर बनाएपछि वर्षात्‌को समयमा आफू जोखिम हुन्छु भन्ने कुरा सम्बन्धितले बिर्सनु हुँदैन थियो ।

आफूलाई सामाजिक अभियन्ता बताउने ‘सेलिब्रिटी’ हरु राहत बाँड्न देश-विदेशमा रहेकासँग मागेको केही अंशबाट त्यही चाउचाउ, बिस्कुट लिएर जान्छन् । उनीहरुले जति खर्च गरेर राहतको सामान किनेका हुन्छन्, त्योभन्दा बढी खर्च क्यामेरा पर्सन र विज्ञापनमा गर्छन् । दुई प्याकेट चाउचाउ दिँदै सेल्फी खिचेर सामाजिक सन्जालमा राख्छन् र राहतमा भएको खर्चभन्दा १० गुणा बढी कमाउँछन् । राहत लिने मान्छेको हात गलिसक्छ, तर फोटो खिच्ने रोलक्रम सकिँदैन ।

अर्काथरी घटनास्थलमा रमाइलो हेर्न जाने खालका हुन्छन् । धनले पुगिसरी आएका ती वर्गले न कुनै राहतको कुरा गर्छन्, न पीडितलाई सान्त्वना नै दिन्छन् । उनीहरु त रमाइलो गर्न तथा फोटो खिच्नका लागि गएका हुन्छन् घटना सेलाइसकेको नै किन नहोस् । उनीहरुका लागि त यो विपत्ति फगत ‘लङ ड्राइभ’को मज्जा लिने बाहना बन्दछ ।

विपत्‌को नाममा ‘धन्दा’ गर्नेहरुसँग सावधान रहनुपर्छ । यस्ताखाले विपत् कतिपयका लागि ठूलो उद्योग बन्ने गरेको देखियो । कसैले साँच्चिकै राहत लग्यो भने पनि सम्बन्धित पीडितसमक्ष पुगेको छैन । पाएका छैनन् । कहाँ जान्छन् ती सहयोग ? लेखाजोखा गर्ने कुनै संयन्त्र पनि देखिएन । बर्सेनि विपत् न्यूनीकरणका नाममा सरकारले ठूलो रकम खर्च गरेको हिसाब त देखाउँछ । तर, क्षति सधैं घट्नुको सट्टा बढ्दै छ ।

जे हुनु भइसक्यो, कसैले कसैलाई सत्तोसराप गरेर केही हुँदैन । अबका दिनमा प्रकृतिमाथिको दोहन रोकेर प्राकृतिक रुपमा बाँच्ने प्रयास गर्नु नै सबैको हितमा देखिन्छ । सधैं अरुको भरमा पर्ने बानी पनि छोड्नुपर्छ । विपत् आइलागे सरकारले हेर्ला फलानोले गरिहाल्छ नि भनेर बस्नुभन्दा आफ्नो सुरक्षामा आफैंले ध्यान दिनु उचित हुन्छ ।

प्रतिक्रिया