खोपका लागि राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारकासँग छलपल गर्ने

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारका सम्बन्धित अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ ।
बुधबार बसेको समितिको बैठकले कोभिड-१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरुले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको हो ।
तत्कालै सरकारको प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गरिने समिति सभापति दिल कुमारी रावल थापाले बताइन् । साथै समितिले कोभिड-१९ को नयाँ भेरियन्टको प्रभावको सम्बन्धमा पनि विज्ञहरुसँग छलफल गर्ने उनले जानकारी दिइन् ।
यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ ।
सिन्धुपाल्चोक बाढी पीडितलाई दाल, चामल बोकेर राहत दिन जानेको भिड बढेको र बाढी पीडितलाई दाल, चामल मात्रै आवश्यक नरहेको भन्दै समितिले तिनै तहको सरकारसँग अन्य विभिन्न आवश्यकताहरुको सम्बन्धमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको सभापति थापाले जानकारी दिए । यस सम्बन्धमा पनि तिनै तहको सरकारको प्रतिनिधि ल्याएर छलफल गरिने सभापति रावलले जानकारी दिए ।

प्रतिक्रिया