छैटौं समूहको एपीएफ कमान्ड तथा स्टाफ कोर्स उद्घाटन

नेपालखोज २०७८ असार ९ गते २१:३५

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन गरेका छन् । बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच स्टाफ कोर्षको उद्घाटन गरिएको हो ।

त्यसअवसरमा महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ सुरु गरिएको कोर्षले विभिन्न समयमा आईपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनावद्ध रुपमा व्यवसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा उक्त कोर्ष गरेका अधिकृतहरुले कार्यक्षेत्रमा खटेर उल्लेख्य योगदान पुर्‍याउँदै आईरहेको बताएका छन् । साथै प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकार पार्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपत् प्रकोप नागरिकहरुको सेवा, सुरक्षा र उद्वारका साथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्दै सक्षमताका साथ शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पुर्‍याई रहेको पनि खनालले बताए ।

एपीएफ अधिकृतहरुलाई ईमान्दार, नैतिकवान, कर्तव्यनिष्ठा बनाई सांगठनिक विकासमा योगदान पुर्‍याउन सक्ने गरी पूर्ण व्यवसायिक बनाउन यस कोर्षले यथेष्ट ज्ञान प्रदान गर्ने चर्चा गर्दै खनालले व्यक्तिको व्यक्तित्व विकास तथा वृत्तिविकासमा समेत यस्ता कोर्षले महत्वपूर्ण सहयोग पुर्‍याउने उल्लेख गरे ।

उनले ज्ञान आर्जन गर्ने कार्य जीवन प्रयन्त चलिरहने विषय भएको चर्चा गर्दै यस्ता उच्च शिक्षा आर्जन गर्नेतर्फ अध्ययनशिल र अझै बढी मेहनति भई लाग्न प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिँदै उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने समेत बताए ।

महानिरीक्षक खनालले उक्त कोर्ष स्तरिय रुपमा निरन्तर संचालन गर्नका लागि विशिष्ट सहयोग पुर्‍याएकोेमा त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न निकायबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति आभार प्रकट गरे । समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गर्दे सो कलेजबाट दिक्षित सशस्त्र प्रहरी अधिकृतहरुले सांगठनिक विकासका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दक्षता प्रदर्शन गरी सुरक्षा तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थितरुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपत् व्यवस्थापनलगायत सुरक्षा, विकास र शान्तिलगायतका विविध विषयहरु एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो भने उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ ।

प्रतिक्रिया