बिहीबार, चैत १५, २०८०

स्याड म्युजिकले एक्लोपनमा राहत दिन्छ

नेपालखोज २०८० जेठ २४ गते १२:०७

काठमाडाैं । मानिसहरु पिडापुर्ण वा दुखी संगीत किन सुन्छन ? अहिलेसम्म उदासिपुर्ण संगीतले मानिसलाई थप दुखी बनाउँछ भन्ने मान्यता पाइन्थ्यो तर वास्तवमा यसले हाम्रा सुन्दर पलहरुको सम्झनासँग जोडिन मद्दत गर्छ । हालसालै गरिएको अनुसन्धानले दावी गरेको छ । हामी वास्तविक जीवनमा दुःखी हुन चाहँदैनौं तर हामी निश्चित रूपमा संगीतको माध्यमबाट त्यो भावना महसुस गर्न चाहन्छौं।

येल युनिभर्सिटीका अनुसन्धानकर्ता तथा मनोवैज्ञानिक डा. जोसुवा नोब भन्छन् – मानिसमा एउटै समयमा कुनै पनि कुराका लागि दुईवटा अवधारणा हुन्छन् । एउटा वास्तविक र अर्को भर्चुअल । यस्तै स्याड म्युजिकमा पनि हुन्छ। यी गीतले हामिलाई गहिरो सम्झनाहरूमा लैजान्छ तर दुःखी बनाउँदैन। डा. नोबले स्याड म्युजिकमा गरेको यो अनुसन्धान जर्नल अफ एस्थेटिक एजुकेशनमा प्रकाशित छ ।

यसमा उनले खुसीको गीतले खुसी वा दुखी गीतले दुखी बनाउनु आवश्यक नरहेको बताएका छन । वास्तवमा स्याड म्युजिकले पनि नकारात्मक भावनाहरूबाट बाहिर आउन मद्दत गर्दछ । यसले श्रोतालाई भावनाहरू व्यक्त गर्न, तनाव कम गर्न तथा एक्लोपनमा साथी र सान्त्वना प्रदान गर्ने क्षमता राख्छ । अनुसन्धानकर्ताहरू भन्छन्, समग्रमा स्याड म्युजिकले हामीलाई परिस्थितिसँग जुध्न मद्दत गर्छ ।

अझ महत्त्वपूर्ण कुरा स्याड म्युजिकले हामीलाई के आश्वस्त तुल्याउछ भने हामिले जे महसुस गरिरहेका छौं त्यसमा केही गलत छैन । हृदयस्पर्शी धुनहरूले हामीलाई सही ठहर्‍याउछ र हामीलाई के महसुस गराउँछ भने हामीले जे महसुस गरिरहेका छौं त्यो प्राकृतिक र मानवीय हो । यसले हामीलाई जीवनमा अगाडि बढ्न उत्प्रेरित गर्छ।

स्वीडेनको उपसाला विश्वविद्यालयका संगीत मनोवैज्ञानिक प्याट्रिक जसलिन भन्छन्, स्याड म्युजिकले एक किसिमको आनन्द लिएर आउँछ । यसले दैनिक जिवनमा आइरहने दुःखदायी भावनाहरूले जस्तो प्रत्यक्ष रूपमा कुनै हानि पुर्याउदैन ।

यसको विपरित यसले श्रोताहरुलाई दुःखको भावनाको आनन्द लिने अनुमति दिन्छ । डा. नोब भन्छन्, स्याड म्युजिक मन पराउनुको एउटा वैज्ञानिक पक्ष पनि छ । स्याड म्युजिकले दुख , उदासी वा तनावका समयमा प्रोल्याक्टिन हार्मोन रिलीज गर्न उत्प्रेरित गर्छ । यो हार्मोनको एनाल्जेसिक प्रभावका कारण यसले पिडा कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

मानसिक तनावको अवस्थामा, प्रोल्याक्टिनले शान्ति तथा स्थिरताको भावना सिर्जना गर्दछ। यसले उदासीको अवस्थालाई बढ्नबाट रोक्न मद्दत गर्दछ । यो अनुसन्धान अनुसार धेरै मानिसहरू कुनै कुरामा दुखी नभए पनि भावुक भएका बेला स्याड म्युजिक सुन्छन् र रोएर हल्का महसुस गर्छन् ।

प्रतिक्रिया