शनिबार, जेठ ५, २०८१

‘कोरोनाको तेस्रो लहर बच्चालाई नै लक्षित गरेर आउँदैन’

प्रनिशा अधिकारी २०७८ असार १० गते १५:२९

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकालाई नै लक्षित गरेर आउँछ भन्नेमा सत्यता नरहेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरले बाबालिकालाई धेरै संक्रमण हुने बताइरहेका बेला चिकित्सकहरूको यस्तो भनाइ आएको हो । कुनै समूह अथवा उमेरलाई लक्षित गरेर भाइरसको विकास नहुने उनीहरूको तर्क छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन तेस्रो, चौथो वा पाँचौं जुनसुकै लहर आए पनि बालबालिकालाई मात्रै अथवा धेरै संक्रमण गर्छ भन्ने नहुने दाबी गर्छन् । ‘जतिसुकै लहर आए पनि यो वा त्यो समूहका व्यक्ति वा उमेरकालाई धेरै संक्रमण हुन्छ भन्ने हुँदैन । पहिलो लहरले बूढाबूढीलाई र दोस्रो लहरले युवालाई संक्रमण भएकाले तेस्रो लहरले बालबालिकालाई बढी संक्रमण हुन्छ कि भन्ने हो,’ पुन भन्छन्, ‘तर बुबा-आमालाई संक्रमण हुँदा बच्चालाई पनि हुन्छ भन्ने अहिलेसम्म गरिएको अनुमान हो । भाइरस कुनै समहूलाई मात्रै लक्षित गरेर आउँछ भन्ने हुँदैन । रोग महामारी भन्ने कुरा पालैपालो आउने होइन । जो कोहीलाई हुनसक्छ ।’

संक्रमण रोग विशेषज्ञ अनुप सुवेदी पनि बालबालिका वा किटान गरेर यही समुदायलाई बढी असर गर्ने गरि कोरोनाको तेस्रो लहर आउन सक्छ भन्ने नरहेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहरले बालबालिकालाई धेरै असर गर्छ भनेर अस्पतालहरूलाई शय्या छुट्याउन नै भनेको छ, त्यसो भए मन्त्रालयको भनाइ नै गलत हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘जसले यस्तो भन्यो उसैलाई सोध्नुस् । मलाई योबारे थाहा छैन ।’ जो व्यक्ति कमजोर छ र इम्युनिटी पावर कमजोर छ उसैलाई कोरोना भाइरसले संक्रमण गर्ने चिकित्सकहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले केही समयअघि कोरोना संक्रमणको तेस्रो लहर आउने करिब निश्चित भइसकेको भन्दै यसबाट बच्चाहरू धेरै संक्रमित हुन सक्ने भन्दै देशभरका अस्पताललाई कम्तीमा २० प्रतिशत शय्या छुट्याउन आग्रह गरेको थियो ।

तर, अहिलेकै अवस्था रहे बच्चाहरू पनि ठूलो संख्या प्रभावित भने हुने डा. पुन बताउँछन् । आमाबुबाले खोप लगाउन नपाएको अवस्थामा उनीहरूलाई संक्रमण हुँदा बच्चाहरूलाई त्यसको उच्च सम्भावना रहेको उनी बताउँछन् । त्यसैले पहिला आमाबुबालाई खोप लगाउनुपर्ने उनको भनाइ छ ।

बालबालिकाको सम्पर्कमा आउने व्यक्ति नै खोप लगाएर सुरक्षित हुनुपर्ने उनी बताउँछन् । ‘बुबाआमा खोप लगाएर सुरक्षित हुनु नै छोराछोरी पनि धेरै हदसम्म कोरोनाबाट सुरक्षित हुनु हो । त्यसैले यदि सकेसम्म धेरै बालबालिकालाई संक्रमण हुनबाट बचाउने हो भने सबैभन्दा पहिला उनीहरूका अभिभावकलाई खोप लगाउनुपर्छ,’ डा. पुन भन्छन्, ‘बालबालिकाका लागि खोप नबन्ने र बुबाआमाले पनि खोप लगाउन नपाउने हो भने बच्चाहरूलाई संक्रमण हुने सम्भावना धेरै हुन्छ । त्यसैले सकेसम्म चाँडै खोप लगाइहाल्नुपर्छ भनिएको हो ।

बुबाआमाले खोप लगाउन जति ढिलो गर्‍यो त्यति नै बच्चाहरूलाई पनि खोपको जोखिम भने बढ्ने सुरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् । अभिभावक सुरक्षित भए बाहिर गएर आए पनि उनीहरूबाट अरुलाई कोरोना नसर्ने हुँदा बालबालिका संक्रमणको उच्च जोखिममा नरहेको उनको भनाइ छ ।

कोरोनाविरुद्धको खोप आजसम्म बालबालिकाका लागि निर्माण भइसकेको छैन । नेपालमा खोपको अभावमा खोप लगाउन चाहने वयस्क तथा वृद्धवृद्धाले पनि खोप लगाउन पाएका छैनन् । सरकारले आवश्यक मात्रामा खोप ल्याउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । खोप नपाएका जनता ‘नो खो नो भोट’ तथा ‘वान भोट वान खोप’ भन्ने अभियान केही समयअघि सामाजिक सन्जालमा चलेको थियो ।

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया