राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर : देउवा

नेपालखोज २०७८ असार १० गते १८:११

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम भएको भन्दै राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर भएको बताएका छन् ।

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा बोल्दै सभापति देउवाले प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताए । उनले आफुलाई प्रधानमन्त्री बनाउने निवेदनलाई अस्वीकार गरी लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार भएको बताए ।

संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षाको लागि पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको उनले स्पष्ट पारे । सभापति देउवाले आफुहरु मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय मुलुकहरुसँग स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सम्बन्ध कायम गर्न चाहेको पनि बताए । उनले लोकतन्त्र र संविधानको पक्षमा उभिन पनि सबैलाई आह्वान गरे ।

उनले भने– ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभा विघटनले लोकतन्त्र माथि नै खतरा उत्पन्न गरेको छ । प्रतिनिधि सभाका बहुमत १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी गर्‍यौँ । स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ हामीले लोकतन्त्रका लगि सर्वोच्च अदालतमा निवेदन दिएका छौँ । हामीहरु राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्रको रक्षा र जनतालाई महामारीबाट बचाउने उदेश्यसाथ पाँच राजनीतिक दलको संयुक्त मोर्चाका साथ अग्रसर छौँ । हामी सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहान्छौँ । निरंकुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं ।’

प्रतिक्रिया