नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको वित्तीय सम्झौता

नेपालखोज २०७८ असार १३ गते १७:५२

काठमाडौं । कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच आज हस्ताक्षर भएको छ ।

यस सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानातथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् ।

यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निमाणमा टेवा पुर्याउने छ, अर्थसचिव ढुंगानाले भने ।

उक्त बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने समेत बताए ।

आर्थिक बृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय बृद्धि तर्फ लक्षित सुधारहरूलाई सघाउनेछ ।

यस क्षेत्रमा गरिने सुधारका कार्यक्रमहरूले सामाजिक सुरक्षा, अन्तर-सरकारी संरचना लगायत व्यवसायहरूको पूँजीमा पहुँच आदि विषयमा समेत विशेष ध्यान दिनेछ ।

यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालू ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्नेछ ।

प्रस्तुत सहयोग बजेटरी सहायताका रुपमा प्राप्त हुनेछ । कोभिड-१९ को महामारीका बेला तथा सोपश्चातपनि यस आयोजनाले नेपालमा दीगो बृद्धि हासिल गर्न सहयोग गर्नेछ, जुन् समावेशी, रोजगारीप्रवर्द्धक तथा पर्यावरणीय रूपमा दिगो हुनेछ, माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद-जर्भोसले बताए ।

कोभिड महामारीका समयमा मानिसको जीवन रक्षा तथा अर्थ-व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरूलाई सघाउन विश्व बैंक प्रतिवद्ध छ, उनले थपे ।

प्रतिक्रिया