बुधबार, जेठ १, २०८२

निगमले विभिन्न समयमा जहाज किन्दा देखिने समस्याको अध्ययन हुन्छ : मन्त्री श्रेष्ठ

नेपालखोज २०७८ असार १३ गते १९:५९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको अध्ययन गर्ने बताएका छन् । सिंहदरबारमा आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उनले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

साथै उनले आफु मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताए । रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेबारी सम्हाल्नु परेको उल्लेख गर्दे उनले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्यायोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औल्याए । सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेबारी कर्मचारीहरुको भएको भन्दै उनले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरि कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए ।

उनले भने “मैले थप जिम्मेबारी पाएको कुनै रहरले होइन बाध्यताले हो । अहिलेको परिस्थितिले हो । म जतिदिन यहाँ हुन्छु त्यत्तिदिन यो मन्त्रालयलाई कसरी राम्रो गर्न सकिन्छ गर्नेछु । त्यसमा तपाईहरु (कर्मचारी) को सहयोग चाहिन्छ । तपाईहरुले नै गर्ने हो । समस्या आउन नदिने गरि काम गर्नुहोस् । नीतिगत कुरा सरकारले गर्ने हो तर कार्यान्वयन कर्मचारीले गर्ने हो । तपाईहरु राज्य संञ्चालनको स्थायी संयन्त्र हो । कार्यान्वयन गर्ने तपाईहरुले हो । कठिन अवस्थामा रहेकाले कसरी काम गर्न सकिन्छ भनेर तात्कालिन, मध्य र दीर्घकालिन कार्ययोजना बनाउनुहोस् ।”

प्रतिक्रिया